स्वास्थ्यकर्मी कुट्ने तीन जनाविरुद्ध ज्यान मार्ने कसुरमा मुद्दा दर्ता
१४ जेष्ठ २०७८, शुक्रबार १९:३१
नेपालगञ्ज । भेरी अस्पतालका चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन जनाविरुद्ध ज्यान मार्ने कसुरमा मुद्दा दर्ता भएको छ । डाक्टर र नर्समाथि हातपात गर्ने तीन जनाविरुद्ध बाँके प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको हो ।
दाङका डिल्ली रावतको भेरी अस्पताल, नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएपछि उनका भाइ मानबहादुर र भरत तथा छोरा लोकराजले डिउटीमा खटिएका डाक्टर र नर्समाथि हातपात गरेका थिए ।
बाँके प्रहरीले तिनै जनालाई राती नै नियन्त्रणमा लिएको थियो। प्रहरीले शुक्रबार तिनै जनालाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको बाँके प्रहरीका प्रवक्ता सुवास खड्काले जानकारी दिए ।
आक्रमणकारीले विरामीलाई ल्याएदेखि नै मुख्यमन्त्रीको पावरको कुरा गर्दै डाक्टर र नर्सलाई धम्क्याउने गरेको उपचारमा संलग्न डाक्टर चन्द्रप्रकाश साहुले बताए ।
कोरोना संक्रमित विरामीको मृत्यु भएपछि रावतत्रयले डिउटीमा रहेका डाक्टर र नर्सको घाटी अठ्याउनुका साथै लखेटी लखेटी हातपात गरेका थिए । डाक्टर र नर्स झ्यालबाट हाम फालेर भागेका थिए ।
घटनापछि भेरीमा डाक्टर र नर्स आन्दोलनमा उत्रिएका थिए । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले राती सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा छानबिन समिति गठन गरेका छन् । समितिले तीन दिनभित्र प्रतिवेदन बुझाउने गरे काम थालेको छ । आक्रमणकारीलाई मुद्दा दर्ता, अस्पतालमा सुरक्षा व्यवस्था मजबुत गराउने प्रतिवेदनपछि आन्दोलन रोकिएको छ ।
रावत यसअघि तुलसीपुर उपमहानगरपालिकामा नायब सुब्बा हुँदा मेयर घनश्याम पाण्डेका स्वकीय सचिव भएको र एक जना कार्यपालिका सदस्यमाथि अभद्र व्यवहार गरेको आरोपपछि जागिर गएको थियो । एमाले दाङ जिल्ला सचिवालय सदस्य रहेका रावतमाथि देउखुरी की एक महिला बलात्कारको अभियोग समेत लागेको थियो ।
यता, नागरिक समाज, राजनीतिक अगुवा लगायतले घटनाका दोषीलाई कडा कारबाहीको माग गरेका छन् । स्वास्थ्यकर्मीमाथि आक्रमण हुँदा उपचार नपाएर सोही अवधिमा भेरी दुई जना कोरोना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया