यास चक्रवातको प्रभाव: औसतभन्दा बढी वर्षा
१३ जेष्ठ २०७८, बिहीबार ०८:०८
काठमाडौं । अरब सागरमा विकसित ‘ताउ–ते’ चक्रवात आएको करिब नौ दिनको फरकमा बंगाल खाडीमा अर्को चक्रवात ‘यास’ आयो । मौसमविद्ले प्रि–मनसुन अवधिमा आएका यी दुवै चक्रवात प्रभावका कारण औसतभन्दा बढी वर्षा हुने पूर्वानुमान गरेका छन् ।
नौ दिनको अन्तरालमै यस प्रकारको मौसमी प्रणाली विरलै विकसित हुने वरिष्ठ मौसमविद् मणिरत्न शाक्य बताउनुहुन्छ।
बुधबार राति प्रदेश १ को एक-दुई स्थान, बिहीबार राति प्रदेश १, प्रदेश २, बाग्मती र गण्डकी प्रदेशमा केही स्थानमा भारी वर्षा सम्भावना छ
पूर्वीमध्य अरब सागरमा विकसित ताउ–ते चक्रवातको असर नेपालमा गत २ जेठदेखि नै परेको हो । यसको प्रभावले हुरीबताससहितको मध्यम वर्षा र उच्च हिमाली भागमा हिमपात भएको थियो । ताउ–ते सकिएलगत्तै आएको यास चक्रवात प्रभावले पूर्वी नेपालका जिल्लामा वर्षा जारी छ । यो क्रमशः पश्चिम सर्नेक्रममा रहेको मौसमविद् प्रतिभा मानन्धर बताउनुहुन्छ।
जल तथा मौसम विज्ञान विभागले पनि विशेष बुलेटिन जारी गरी बुधबार र बिहीबार १ देखि कर्णाली प्रदेशका जिल्लासम्म हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुने जनाएको छ । बुधबार राति प्रदेश १ को एक-दुई स्थान, बिहीबार राति प्रदेश १, प्रदेश २, बाग्मती र गण्डकी प्रदेशमा केही स्थानमा भारी वर्षा सम्भावना छ । ताउ ते र यास चक्रवातको विकसित मौसमी प्रणालीका कारण पानी पर्दा नेपालीले सुक्खा समय राहत महसुस गरेका छन् ।
कहिलेकाहीँ यस्ता चक्रवातले मनसुनमा प्रभाव पार्ने गर्छन् । जसकारण मनसुन ढिलो वा चाँडो सुरु हुने गर्छ । तर, अहिले नै मनसुन आगमनबारे निष्कर्ष निकाल्न भने नसकिने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाकी मौसमविद् मानन्धर बताउनुहुन्छ ।
‘अहिले मनसुनको गतिविधि विस्तारै विकास हुँदै गएको त छ तर यी दुई चक्रवात मात्रै हेरेर आगमन समय निश्चित गर्न सकिँदैन,’ उहाँले भन्नुभयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया