गाउँमा कोरोना ‘भुसको आगो’ झैं
१२ जेष्ठ २०७८, बुधबार ०८:५१
बागलुङ नगरपालिकामा १४ वटा वडा छन् । तीमध्ये १ देखि ४ सम्मका वडाले सहरी क्षेत्र ओगटेका छन् । बाँकी दशवटा वडा ग्रामीण भेग हुन् । सहरी क्षेत्रको तुलनामा ग्रामीण भेगका वडाको जनघनत्व निकै नै कम छ। तर, कोरोना भाइरस संक्रमणको गति भने अहिले जनघनत्व बढी भएको सहरी भेगभन्दा कम जनघनत्वको ग्रामीण भेगमा तीव्र छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीका अनुसार अहिले नगरपालिकाभित्र ३ सयभन्दा बढी सक्रिय संक्रमित छन्।
तीमध्ये १ सय ५० जना मात्र सहरी क्षेत्रका वडा (१ देखि ४ सम्म) का छन् । बाँकी सबै ग्रामीण क्षेत्रका वडाका बासिन्दा हुन् । ‘सहरमा भन्दा गाउँमा डरलाग्दो हुँदै गएको छ। सहरको तुलनामा गाउँमा जनघनत्व स्वतः कम हुने नै भयो। तापनि संक्रमणको गति भने गाउँमा छ,’ ज्ञवालीले भने, ‘गाउँमा कोरोनाले डरलाग्दो अवस्था निम्त्याएको छ।’ वडाको संख्याको हिसाबले मात्र सहरको भन्दा बढी भए पनि जनघनत्व गाउँमा निकै नै कम भएको उनले बताए।
गाउँमा निस्फिक्री आवागमन हुँदा जोखिम पनि बढेको उनले बताए । ‘गाउँमा त साह्रै नै हेलचक्र्याइँ छ । सुुरुवातताका यसलाई गाउँलेले खासै वास्ता पनि गरेनन्,’ उनले भने, ‘सहरका मान्छे धमाधम गाउँ पस्दा कसैले वास्ता गरेनन् । तर, गाउँ पसेका तिनै सहरियाले कोरोना भित्र्याए ।’ सहरबाट गाउँ पसेका मान्छेले संक्रमण बोकेर गएको र उनीहरू निको भए पनि अहिले तिनै सहरियाको माध्यमबाट गाउँ छिरेको कोरोना बेपरवाह हिँडडुलले फैलिएको उनले बताए ।
‘गाउँमा मास्क पनि नलगाउने, आफ्नै इस्टमित्र हुन् भनेर आउजाउमा बेवास्ता गरिएको छ,’ उनले भने, ‘इस्टमित्रको त्यही आउजाउ नै अहिले गाउँमा कोरोना फैलाउने माध्यम बनेको छ ।’ पछिल्लो समय गाउँमा जोखिम बढ्दै गएको उनले बताए । सहरको र गाउँको जनघनत्वको आकारका विश्लेषण गर्दा पनि आधा बढी संक्रमण ग्रामीण क्षेत्रमा हुनु डरलाग्दो भएको उनले बताए । ‘जनघनत्व गाउँमा निकै नै कम छ । सहरमा जस्तो भीडभाड गाउँमा छैन । भौतिक दूरी कायम गर्न गाउँमा सहज पनि छ,’ उनले भने, ‘तर संक्रमणको गति भने गाउँमा बढी छ । जनघनत्वको हिसाबले त गाउँमा भन्दा सहरमा बढी हुनुपर्ने भए पनि अहिले गाउँमा बढी छ । ग्रामीण क्षेत्रमा बेवास्ता भएकै हो ।’
स्याङजाको पुतलीबजार नगरपालिकाको अवस्था पनि बागलुङको भन्दा फरक छैन । पुतलीबजारका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माका अनुसार पुतलीबजारका १, ३ र १३ नम्बर वडामा जनघनत्व बढी छ । नगरपालिकाका १४ वटा वडामध्ये तीनवटा (१, ३ र १३) को तुलनामा ग्रामीण क्षेत्रका ११ वटा वडामा भएका संक्रमितको संख्या बढी रहेको उनले बताए । उनका अनुसार पुतलीबजारमा मात्र २ सयभन्दा बढी सक्रिय संक्रमित छन् । तीमध्ये ४० प्रतिशत हिस्सा सहरी क्षेत्रका तीनवटा वडाले ओगटेका छन् । बाँकी ६० प्रतिशत हिस्सा गाउँका ११ वटा वडाले लिएका छन् ।
‘जनघनत्वको हिसाबले त ग्रामीण भेगका ११ वटा वडाको तुलनामा सहरी भेगका तीनवटा वडामा बढी छ । तर, संक्रमण भने अहिले कम जनघनत्व भएको वडामा छ,’ शर्माले भने, ‘गाउँमा भेला, घेटघाट पहिलेभन्दा कम हुन सकेनन् । आउजाउ नरोकिँदा गाउँमा डरलाग्दो छ ।’ उनका अनुसार अहिले गाउँमा कन्ट्याक्ट ट्रेसिङ पनि छैन । गाउँले आफैं बिरामी भएँ भन्दै परीक्षण गर्न आए मात्र नमुना संकलन गर्न सकिन्छ । नत्र गाउँलेले भित्रभित्र रोग पालेर बसेका छन् ।
‘गाउँमा परीक्षण हुन सकेको छैन । गाउँका मान्छेले घरघरमा भेला भएर दिन कटाउने गरेका छन् । गाउँका गतिविधि कुनै पनि रोकिएका छैनन् । गाउँमा चेतनाको कमी पनि छ,’ उनले भने, ‘अहिले नियमित हिसाबले मान्छे आउजाउ भएको छ ।’ सहरमा निषेधाज्ञाले संक्रमण कम हुँदै गए पनि गाउँमा भने निषेधाज्ञाको प्रभाव नपरेको उनले बताए।
गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माका अनुसार सहरमा कडा निषेधाज्ञाले संक्रमण ‘जाम’ भए पनि गाउँमा भने भुसको आगो फैलिए जसरी तीव्र भएको छ। ‘अझै दुई हप्ता कडा लकडाउन गर्ने हो भने सहरमा नियन्त्रण हुन्छ। सहरमा नियन्त्रण हुनु भनेको चेन बे्रक हुनु हो,’ शर्माले भने, ‘तर गाउँमा चेनब्रेक हुन नसकेको हो ।’ गाउँमा हिँडडुलमा हल्का हुँदा यो अवस्था आएको उनले बताए।
‘उनका अनुसार सहरका मान्छे कोरोनाप्रति सचेत छन् । तर, गाउँमा भने हामी सहरिया भीडभाडमा छैनौं भनेर ढुक्क भएका हुन्,’ उनले भने, ‘तर, गाउँमा ढुक्क हुने अवस्था छैन।’ सहरबाट गएका आफन्त र नातिनातिनाबाट अहिले गाउँमा संक्रमण फैलिएको उनको अनुमान छ । ‘सहरमा बसेका बच्चाबच्चीले गाउँमा पाका उमेरकालाई सारेका छन् । भुसको आगो झैं अहिले गाउँमा छ । यो साँच्चै डरलाग्दो अवस्था हो,’ उनले भने। नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया