माधव नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय – Nagarikabhiyan : National News

माधव नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

काठमाडौँ । नेकपा एमालेले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज (शनिबार) बसेको बैठकले पहिलो चरणमा ११ जना नेताहरुलाई स्पष्टीकरणबाट कारवाही प्रक्रिया शुरु गर्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी पेश गर्दा एमालेको माधवकुमार नेपाल समूहका २६ सांसदको हस्ताक्षर पेश गरेका थिए । तर ११ जनालाई मात्र स्पष्टीकरण सोधिएको छ ।

विपक्षी गठबन्धनमा सहयोग गर्ने नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, भीमबहादुर रावल, मुकुन्द्र न्यौपाने, कल्याणी खडका, लक्ष्मी चौधरी, रामकुमारी झाँक्री, पुष्पाकुमारी कर्ण, निरादेवी जैरु, सरला यादव, कलिला खानसहित ११ जना नेतालाई कारवाही प्रक्रिया अघि बढाउने निर्णय भएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बताउनुभयो ।

स्पष्टीकरणका आधारमा कारबाहीको थप निर्णय हुने उनको भनाइ छ।