आजको मौसम : देशका केही स्थानमा भारी वर्षाको सम्भावना – Nagarikabhiyan : National News

आजको मौसम : देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश नम्बर–१, प्रदेश नम्बर–२, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशका सुदूरपश्चिम प्रदेश, वाग्मती र प्रदेश–१ का केही भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागहरुमा सामान्यदेखि पूर्ण बदली रहेको छ ।

आज दिउँसो प्रदेश–१, प्रदेश–२ लगायत अन्य पहाडी भू–भागहरुमा सामान्यदेखि पूर्ण बदली रहनेछ । बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पश्चिमी न्यूनचापीय प्रणाली, दक्षिण–पूर्व भू–भागनजिक रहेको पूर्व–पश्चिम फैलिएको न्यूनचापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभावले मौसम बदली भएको हो । आज काठमाडौं उपत्यकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् राजु प्रधानांगले जानकारी दिए ।

आज राति देशका अधिकांश भू–भागहरुमा सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, प्रदेश–२ र वाग्मती प्रदेशका तराईका भू–भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।