जसपामा चर्काचर्की, महन्थले उपेन्द्र पक्षको लुम्बिनी प्रदेशका ४ सांसदलाई हटाउने – Nagarikabhiyan : National News

जसपामा चर्काचर्की, महन्थले उपेन्द्र पक्षको लुम्बिनी प्रदेशका ४ सांसदलाई हटाउने

काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगमा अर्का अध्यक्ष उपेन्द्र यादव पक्षको लुम्बिनी प्रदेशका चार जना सांसद हटाउने निर्णयविरुद्ध ध्यानाकर्षण निवेदन बुझाएका छन्। प्रदेश सभाले वैशाख १६ गतेमा चार जना सांसद निष्कासन भएको सूचना प्रकाशित भएको भोलिपल्टै शुक्रबार अध्यक्ष ठाकुर निर्वाचन आयोग पुगेका हुन्।

अध्यक्ष ठाकुरले प्रदेशसभा सदस्यलाई हटाउने अधिकार पार्टी अध्यक्ष उपेन्द्र यादवलाई नरहेको उल्लेख गरेका छन्। निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले लुम्बिनी प्रदेशमा सांसदलाई पार्टीबाट निष्काशन गरेको बारेमा पार्टीका अध्यक्ष महन्थ ठाकुरले ध्यानाकर्षण गराएको बताए । ध्यानाकर्षण गराएपनि आयोगले तत्काल त्यसमा केही गर्न नसकिने जवाफ दिएको छ। उनले भने, पार्टीले गरेको कारवाहीमा निर्वाचन आयोगले केही गर्न सक्दैन।’

जसपा नेपालको वैशाख १४ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चारजना सांसदलाई बिहीबार कारवाही गरेको हो। अध्यक्ष यादव पक्षले संसदीय दलको निवेदनको आधारमा सन्तोगाकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई पदमुक्त गर्ने निर्णय गरेको थियो। त्यही निर्णयका आधारमा प्रदेश संसद् सचिवालयले उनीहरूलाई पदमुक्त गरेको सूचना १७ वैशाखमा प्रकाशित गरेको थियो।

​तर अर्का अध्यक्ष महन्थ ठाकुरले भने कारवाही भएको छैन भन्दै प्रदेशसभाका सभामुखलाई पत्र पठाएका छन्। यता, कार्यकारिणी समितिको बहुमत सदस्यको हस्ताक्षरबाट कारवाहीमा परेका लुम्बिनी प्रदेशका सांसदहरु पनि कानूनी उपचारमा जाने तयारी गरिरहेका छन्। स्रोतका अनुसार समय रहेमा आजै नै सर्वोच्च अदालतमा रीट दायर गर्ने उनीहरुको तयारी छ।