यसकारण नेपालसहित चार जनाको पद जाने सम्भावना उच्च
१२ बैशाख २०७८, आईतवार ११:५८
काठमाडौं । गत हप्ता दर्ता गरिएको माधवकुमार नेपालसहित चार जनाको रिटलाई सर्वोच्च अदालतले आज ३१औं नम्बरमा पेशी चढाएको छ । त्यस्तै, प्रधानमन्त्री पक्षले आजै आफ्ना वरिष्ठ नेताहरुमाथि कार्वाहीको निम्ति आकस्मिक बैठक समेत बोलाएको छ ।
न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा अन्तिम दोश्रो नम्बरमा राखिएको मुद्दाउपर आज पालो आउने सम्भावना छैन । अर्को पेशी चढ्दासम्म प्रतिनिधिसभाका केही सदस्यको पद खाइसक्ने तयारी भइरहेको छ ।
सामान्यतया विषयको गम्भीरता हेरी यस्ता रिटलाई एक,दुई नम्बरमै राखेर आदेश दिने परम्परालाई यसचोटि तोडिएको हो । कानूनविद्हरुका अनुसार ढिलो गर्नु न्याय नदिनु बराबर हो ।
माधवकुमार नेपालसहितका निवेदकले रिटमा ‘आफूहरुमाथि गर्न लागिएको निश्कासनको कारवाही उत्प्रेषण,प्रतिशोधको आदेशद्वारा बदर तथा रोक्का गरिपाउँ’ भनेका थिए ।
त्यस्तै आफूहरुले दलत्याग गरेको भनी एमालेले कारवाही गर्न सक्ने पूर्ण आशंका भएकाले सो कार्य रोक्न र संघीय संसद सचिवालयलाई पनि सांसद पद रिक्त गर्ने प्रक्रियाको पत्र गएमा सो कार्य नगर्न परमादेश माग गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया