धरानका पाखाहरूमा जग्गा सुधार तथा चक्लाबन्दी खेतीको सुरुवात – Nagarikabhiyan : National News

धरानका पाखाहरूमा जग्गा सुधार तथा चक्लाबन्दी खेतीको सुरुवात

लामो समेयदेखी बाझो रहेको सुनसरी जिल्लाको धरान उपमहानगरपालिका २० स्थित भालढुगांका पाखाहरुमा जग्गा सुधार गरी चक्लाबन्दी खेती सुरु गरिएको छ ।
सुनसरीको धरान उपमहानगरपालिका २० भालढुगांमा श्रीकोकाह कृषक समूह धरान २० का २२ जना कृषकहरूको कुल १८ हेक्टर क्षेत्रफलमा जग्गा सुधार तथा चक्लाबन्दी खेतीको सुरुवात गरिएको हो । जग्गा सुधार तथा चक्लाबन्दी खेतीको लागि किसानहरुले चासो देखाएको र सरकारले पनि त्यसमा सहयोग गरेकाले खेती सुरुवात गरिएको छ ।
जिल्लाको धरान २० अन्तर्गतको पहाडी क्षेत्र भालढुगां, बरडाँडा, विष्णुपादुका र बराहक्षेत्रको चियाबारी, सूर्यकुण्ड लगायतका क्षेत्रहरूमा जग्गा साना तथा भिराला रहेकोले युवा पुस्ताहरू परम्परागत तरिकाबाट खेति गर्न असहज महसुस गर्दै खेतिपातिबाट बाहिर निस्कने र गाउँको अधिकांश जग्गाहरू बाँझो रहेकोले जग्गा चक्लाबन्दी गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, सुनसरीबाट खेती शुरूवात गरिएको इकाई प्रमुख दिपेन्द्र पोखरेलले बताउनुभयो ।
चक्लाबन्दी कार्यक्रम धरान उपमहानगरपालिका प्रमुख तिलक राईले उद्घाटन गर्नुभएको हो । चक्लाबन्दीमा स्थानीय जातको मुल्यवान धान खेती प्रदर्शनी कार्यक्रम तथा चक्लाबन्दीमा पकेट कार्यक्रम संचालन हुने नगर प्रमुख तिलक राईले बताउनुभयो । साथै जग्गा सुधार गरिएका पाखाका अधिकांश जग्गाहरूमा यान्त्रिकिकरण समेत गर्न सहज हुने भएकाले कृषकहरूलाई व्यावसायिक हुन टेवा पुग्ने र परियोजनाले केहि वर्षसम्म बाली प्रणालीमा रहेर सेवा दिनुपर्ने समेत बताउनुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, सुनसरीबाट साना तथा साँगुरा जग्गा सुधार तथा यन्त्रमैत्री जग्गा तयारी तथा चक्लाबन्दीमा स्थानीय धान उत्पादन गर्ने लक्ष्यका साथ यो कार्यक्रम सुरु गरिएको पोखरेलले बताउनुभयो । कार्यक्रमका लागि कुल लागत १५ लाख ९७ हजार रुपियाँ लाग्ने अनुमान गरिएको श्री कोकाह कृषक समूह, धरान २० का अध्यक्ष मचिन्द्र राईले जानकारी दिनुभयो ।
१, सुनसरीको धरान उपमहानगरपालिका २० स्थित भालढुगांका पाखाहरुमा जग्गा सुधार गरी चक्लाबन्दी खेतीको उद्घाटन गर्दै धरान प्रमुख तिलक राई सहितका सरोकारवालाहरु ।
तस्बिर ः जयकृष्ण यादव । इनरुवा