अन्धभक्त मिडिया – हजार जमाती “मानव बम” र लाखौं कुम्भ सहभागी “श्रद्धालु”
१० बैशाख २०७८, शुक्रबार १७:०३
काठमाडौ । भारतको उत्तराखण्डमा हरेक १० वर्षमा कुम्भ मेला लाग्ने भएको छ । १ अप्रिलबाट हरिद्वारमा सुरु भएको कुम्भ मेला ३० अप्रिलमा सकिँदै छ ।
सो मेलामा लाखौँ मानिस कोभिड-१९ सम्बन्धी स्वास्थ्य मापदण्ड पालना नगरी उपस्थित भएका छन् । तर आजभोलि भारतमा दैनिक दुई लाख भन्दा बढी कोभिड-१९ को संक्रमण पुष्टि हुँदै गइरहेका छन । भारतको कुम्भ मेलाबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र र उनकी पत्नी कोमलसहित भ्रमण दलका सदस्यहरुमा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ ।
यतिबेला भारतका मिडिया, सामाजिक सञ्जालमा दुई वटा तस्विर देखिँदै आएका छन्- पहिलो कोभिड-१९ ले आक्रान्त समाज र त्यसले निम्त्याएको पीडा भने अर्को उत्सव जहाँ लाखौँ मानिसहरु धर्मको नाममा गंगामा डुबुल्की मारिरहेका छन् । हरिद्वारको कुम्भ मेलामा १० अप्रिल देखि १४ अप्रिलको पाँच दिनमा मात्र एक हजार ७०१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको बीबीसी हिन्दीले जनाएको छ।
बीबीसी हिन्दीका अनुसार यस घटनाप्रति भारतीय देशका कुनै राजनीतिक नेतृत्वलाई चिन्ता छैन ।
देशका विभिन्न ठाउँमा लकडाउनका कारण प्रवासी कामदार पलायन हुन थालेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्रमै मानिस उपचार नपाएर मृत्युवरण गरिरहेका छन् ।
कोभिड-१९ को महामारी बढ्दै जाँदा संक्रमण फैलाउने डर पनि कसैलाई देखिँदैन। यसलाई उनीहरुले कुनै अपराध मानेका छैनन्। उनीहरु मान्छन् कि यो कुम्भ मेलामा सहभागी माथि पुन्यको कृपा वर्षाइरहेका छन् । वर्षौँसम्म नयाँ चिकित्सक उत्पादनमा योगदान पुर्याएका चिकित्सक पनि अन्तिम समयमा अस्पतालमा चिकित्सकीय सेवा नपाइ मृत्युवरण गरेका घटना पनि सार्वजनिक भएका छन् । मोदी भने अर्कोतिर पश्चिम बंगालको चुनावी अभियानमा लागिरहेका छन् ।
अब कहानी १ वर्ष अगाडिको र अहिलेको तुलना :
गत वर्ष दिल्लीमा भएको तबलिगी जमातमाथि कोभिड-१९ संक्रमण फैलाउने ‘मानव वम’ को संज्ञा दिएको थियो । जसमा त्यहाँका मिडिया, राजनीतिक कर्मी, सत्तारुढ दल भारतीय जनता पार्टीका नेताहरुले अल्पसंख्यक मुस्लिम समुदायमाथि प्रहार गर्दै सामाजिक बहिस्कार सम्म गरेका थिए। मेनस्ट्रिम मिडियाले मुस्लिम समुदायमाथि ‘मानव बम’को संज्ञा समेत दिएका थिए ।
राज्य, शक्ति र सत्ताले कसरी अल्पसंख्यक माथि प्रहार गर्छ ? कसरी आरोप लगाउँछ ? भारतको राजधानी नयाँ दिल्लीस्थित निजामुद्दिन मरकज मस्जिदमा आयोजना गरिएको एक धार्मिक सभाबाट कोभिड-१९ को संक्रमण फैलिएको आशंका गरिएसँगै बंगलेवाली मस्जिद समेत भनिने निजामुद्दिन मरकजमा आयोजित सभामा १ हजार भन्दा धेरै मानिस सहभागी भएको सभामा पुगेका २४ जनामा भाइरसको संक्रमण देखिएपछि उनीहरु माथि तालिवानी भएकोसम्म आरोप लाग्यो । त्यही भारतमै आजभोलि जहाँ ‘पवित्र स्नान’ का नाममा लाखौँ मानिस गंगामा स्नान गरिरहेका छन् । तर भारतीय मिडियाहरुले उनीहरुलाई श्रद्धालुको संज्ञा दिइरहेका छन्। उनीहरुले गंगाको पानीमा आफ्नो पाप पखालिरहेका छन् जबकी कोभिड-१९ को संक्रमणको ग्राफले हरेक दिन रेकर्ड तोडिरहेको बीबीसी हिन्दीले जनाएको छ ।
गत वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘जनता कर्फ्यू’ घोषणा गरेको अघिल्लो दिन धेरै संख्यामा मानिस मस्जिदमा भेला भएका थिए । भारतीय प्रहरीका अनुसार उक्त सभामा भारतीयसँगै २ सयभन्दा बढी विदेशी नागरिक समेत सामेल भएका थिए। सभामा १९ जना नेपाली नागरिक समेत सहभागी भएका थिए। नेपालसँगै मलेसिया, म्यान्मार, अफगानिस्तानका नागरिक समेत त्यहाँ पुगेका थिए। तर, कोभिड-१९ को ग्राफ उकालो लाग्दै गर्दा हरिद्वारमा लागेको कुम्भ मेला भने त्यही जमातका लागि श्रद्धालुको भीड बनेको छ। उत्तराखण्डका मुख्यमन्त्री तिरथसिंह रावतले हरिद्वारको कुम्भ मेलालाई गत वर्ष दिल्लीको निजामुद्दिन तबलिगी जमातसँग तुलना गर्न नमिल्ने दाबी गरेको बीबीसीले जनाएको छ। उनले त्यतिवेला जमातमा सहभागी एउटा बन्द कोठामा रहेको र कुम्भ मेलामा सहभागी खुला आकासमा रहेको भन्दै सुरक्षित रहेको दाबी गर्दै आएका छन्। ‘यहाँ त गंगा बगिरहेको छ। मा गंगाको प्रवाह र आशीर्वादले कोरोनाको संक्रमण टाढा रहने छ। मा गंगाले यसलाई फैलिने दिने छैनन्। त्यसैले जमातसँग यसलाई तुलना गर्ने प्रश्न आउँदैन्,’ उनले भनेका थिए।
गत वर्ष अप्रिलमा नै कैयौँ मिडियाले दिल्लीको जमातलाई निसाना बनाउँदै ह्यासट्यागको ट्रेन्डिङ चलाएका थिए- कोरोना जिहाद भन्दै। मार्चको २५ तिर जब भारत भर कोभिड-१९ को संक्रमण २५० को हाराहारीमा थियो त्यतिवेला भाजपाका आइटी सेलका अमित मालवीयले नजामुद्दिनमा तबलिगी जमातमा मानिस भेला हुनु अपराध भएको भन्दै आलोचना गरेका थिए। त्यस्तै १४ अप्रिलमा ट्वीट गर्दै उनले दिल्लीका मुख्यमन्त्रीलाई निसाना लगाउँदै कोभिड-१९ नियन्त्रणमा असफल भएको आरोप लगाएका थिए ।
अन्तर्राष्ट्रिय मिडियामा कुम्भ मेलालाई लिएर भारतीय सरकारको आलोचना भइरहँदा त्यसतर्फ भारत सरकार सचेत भएको देखिँदैन। अर्कोतिर केही संख्यामा संक्रमण देखिँदा अल्पसंख्य मुस्लिम समुदायमाथि मानव बमको आरोप लगाइरहेका भारतीय मिडिया लाखौँ संक्रमित बढ्दै जाँदा कुम्भ मेला ‘सुपर स्प्रेडर’को रुपमा अगाडि आउँदा अझै उनीहरुलाई श्रद्धालुको नजरमा हेरिरहेका छन्। जतिखेर तबलिगी जमातको मामिला बाहिर आएको थियो मिडियाले एक किसिमको हिंसा फैलाउने अवस्था सिर्जना गरेका थिए। पछिल्लो समय पनि कैयौँ धार्मिक मेला आयोजना भएका छन्। तर, धर्म परिवर्तन हुँदा उनीहरुको चश्मा बदलिन्छ। हिन्दुका पर्व आउँदा उनीहरुको बचाउ गर्न लाग्छन्।” यो कुम्भ मेला अल्पसंख्यक मुस्लिम समुदायको कुनै सानो धार्मिक भेला पनि हुन्थ्यो त उनीहरु यतिवेला आतकंवादी करार भइसक्ने हुन्थ्योहोला। बीबीसीले उल्लेख गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया