भुमाफियाको चलखेलले जनप्रतिनिधि पनि दुईधारमा – Nagarikabhiyan : National News

भुमाफियाको चलखेलले जनप्रतिनिधि पनि दुईधारमा

कोशी ।  भुमाफियाको चलखेलले सुनसरीको कोशी गाँउपालिका ८ नम्बर वडाका जनप्रतिनिधि पनि विभाजित भएका छन् । यहाँ स्थित भाण्टावारीमा जग्गाधनी प्रमाण पुर्जा नभएको करिब ४ बिगाहाको कारोबारीहरुको चलखेल बढेको रहस्य बाहिर आएको छ ।

कोशी गाँउपालिका ८ स्थित भाण्टावारीमा जग्गाधनी प्रमाण पुर्जा नभएको करिब ४ बिगाहा जग्गा भु–माफिया गिरोहले भारतीय नागरिकसँग मिलोमतो गरि ठगी गर्दै बिक्री गरिरहेको खुलासा भएको छ ।

साविकको हरिपुर गाविस ८ भाण्टावारीमा रहेको ४ बिगाहा १० कठ्ठा जग्गा भारतको बिहार राज्य पटना घरमा भारतिय नागरिक उदयकुमार लाल दासका नाममा ५० वर्ष अगाडी कायम भएको फिल्डवुकको जग्गा भु–माफिया गिरोहले बिक्री गर्न लागेको हो । फिल्डबुकमा मात्रै जग्गा भएको र नापी नभई मालपोतमा लगत कायम नभएको जग्गा विक्री गर्न कोशी गाउपालिका ८ का वडा सदस्य सनिचर यादव र स्थानीय भुमाफिया लागेको गुनासो बाहिर आएको छ ।

भाण्टावारीका स्थानिय धोगन खत्वेले भु–माफिया गिरोहले भारतिय नागरिक उदयकुमार लाल दासलाई ल्याएर वर्षौदेखी आफुले जोतभोग गरि आएको १ बिगाहा जग्गा मालपोत कार्यालयबाट रजिष्ट्रेशन पास गरिदिन्छु भनी ८ लाख रुपियाँ लिएर जग्गा पास नगरि भागेको बताउनुभयो । उदयकुमारसहितका भु–माफियाको ठगीमा परेपछि इनरुवामा रहेको मालपोत कार्यालयमा गएर बुझदा उनको नाममा सुनसरी जिल्लामा जग्गाधनी प्रमाण पुर्जा नभएको तथ्य फेला परेपछि आफुहरु ठगीमा परेको घोगनले बताउनुभयो ।

भु–माफिया गिरोहले जग्गा खरिद गर्ने मानिसलाई कपाली तमसुक बनाएर ऋण लिएको देखाएर उक्त कपाली तमसुकका आधारमा जिल्ला अदालतमा लेनदेन मुद्धा दर्ता गरि अदालती प्रकृयामा मुद्धालाई अगाडी बढाएर जग्गा बिक्री गर्ने बाटो अख्तियार गर्दै आएको पीडितहरुले जनाएका छन । लेनदेन मुद्धामा अदालतबाट विगो भराई दिने निर्णयपछि उदयकुमारले फिल्डवुकमा दर्ता कायम रहेको हरिपुर ८ कित्ता नम्बर ९० को जग्गा २ बिगाहा १५ कठ्ठा १० धुर र हरिपुर ८ कित्ता नम्बर ९३ को जग्गा १ बिगाहा ११ कठ्ठा जग्गा जायजेथा देखाई ऋणीलाई सोही जग्गा लिलाम बिक्रीमा चढाई विगो भराई दिने गरेको अर्का पीडित वौवालाल खत्वेले बताउनुभयो ।

मालपोत कार्यालय इनरुवाले २०७४ माघ १८ गतेको निर्णयले साविकको हरिपुर गाविस वडा नं ८ कि नं ९३ को जवि १ विगाहा ११ कठ्ठा ऐ ऐ को कि नं ९४१ जवि ४ कठ्ठा ६ धुर समेत १ विगाहा १५ कठ्ठा ६ धुर जग्गा दाखा गर्ने निर्णय भएको हुदाँ जग्गाको लगत कायम गरि २०२७ सालदेखी हालसम्मको मालपोत असुल गरि पठाईदिन कोशी गाँउपालिका कार्यालयलाई १०६५० नम्बरको चलानीबाट पत्र पठाई नापी कार्यालय इनरुवालाई नक्सा श्रेस्तामा जनाईदिन समेत बोधार्थ दिएको पाईएको छ । अदालती प्रकृयाबाट उदयकुमारका नाममा फिल्डवुकमा कायम रहेको जग्गा मनोजकुमार रोहिताले लिलाम बिक्री प्रकृयाबाट लिएको स्थानीयहरुले बताएका छन ।

यसरी जग्गाधनी प्रमाण पुर्जा नभएका जग्गालाई लिलाम प्रकृयामा लैजान हाल कोशी गाउपालिकाकै सुकदेव यादवको छोरा देवकुमार यादवले ३० लाख रुपियाँ ऋण उदयकुमारले लिएको कपाली तमसुक अदालतमा पेश गरि मुद्धा प्रकृया अगाडी बढाएर लिलाम बिक्रीमा चढाउन लगाई आफूहरुको हकभोग खोस्न खोजेको वौवालाल खत्वेले बताउनुभयो ।

कोशी गाउपालिका ८ नं वडाका वडाअध्यक्ष विन्देश्वरप्रसाद यादवले ८ नं वडाका स्थानीयहरुले जग्गाधनी प्रमाण पुर्जा नभएका भारतिय नागरिकलाई जग्गा धनी देखाएर उनको नाममा फिल्डवुकमा दर्ता कायम भएको भन्दै लेनदेन मुद्धा र अन्य प्रकृयाबाट जग्गा धनी प्रमाण पुर्जा दिलाई दिने भन्दै ठगी गर्दै आएको निवेदन आफू समक्ष आएको प्रतिकृया दिनुभयो । वडाअध्यक्ष यादवले धेरैजनाको निवेदन वडा कार्यालयमा फायल गरेर राखेको र टोल वस्तीमा गएर बुझदा उदयकुमार लाल दास नाम गरेका मानिस नेपाली नागरिक नभएको उनी भारतको पटनामा शिक्षक सेवामा जागिरे भई त्यहीको स्थायी वासीन्दासमेत भएको खुल्न आएको बताउनुभयो ।

वडाअध्यक्ष यादवले धेरैजना सिधासोझा स्थानीयलाई जग्गा दिन्छु भन्दै भु–माफियाहरुको गिरोहले रकम लिने र जग्गा पास नगरि भागी वेपत्ता भएको र भारतीय नागरिक उदयकुमारसमेतले वौवालाल खत्वेसँग ४ लाख र घोगाई खत्वेसँग ८ लाख रुपियाँ लिएर जग्गा नदिएको निवेदन पेश भएकाले भु–माफियाको ठगी कार्य विरुद्ध समबन्धीत निकायलाई जानकारी दिने तयारी भएको बताउनुभयो ।

वडाअध्यक्ष यादवले पीडितहरुको सख्याँ बढदै गएकाले उक्त जग्गा वर्षौदेखी जोतभोग गर्दै आएका किसानलाई विस्थापित गराउन भु–माफिया लागेकाले मालपोत कार्यालय इनरुवा, नापी कार्यालय इनरुवा र जिल्ला प्रशासन कार्यालयलाई पीडितहरुको निवेदन सहित जग्गा बिक्रीमा रोक लगाउन र ठगी कार्यमा सलग्नलाई पक्राउ गर्न आवश्यक कागजपत्र लेखी पठाउने तयारी भएको जानकारी दिनुभयो ।

५० वर्ष पहिला उदयकुमार लाल दास नाम गरेका व्यत्तीका नाममा उत्त जग्गा फिल्डवुकमा लेखिए पनि जोतभोग गर्न नआएकाले भु–माफियाहरुले भारतको बिहार राज्य पटना घर भई भारत सरकारको शिक्षक समेत रहेका उदय कुमारलाई नेपाल झिकाएर विराटनगर महानगरपालिका १२ नं वडा कार्यालयबाट वासुदेव दासको छोरा उदयकुमार लाल दासको जन्म विद्यालयको शैक्षिक प्रमाण पत्र अनुसार २०२० फागुन ९ गते भएको जन्म भएको समय नेपालमा पञ्जीकरण नभएकाले जन्म मिती प्रमाणित गरिएको व्यहोराको कागज तयार पारी जग्गा बिक्रीका लागी ठगी सुरु गरेको पीडितहरुले दावी गरेका छन ।

यसैबीच गएको चैतमा अदालतबाट आएको सर्जमनि मुचुल्कामा रोहबरमा बसेका वडा सदस्य सनिचर यादव र घनश्याम देवले उक्त कार्य गरेवापत मनोजकुमार रोहितालाई लेनदेन मुदामा विगो भराई दिने कार्यमा सहयोग गरे वापत किन. ९० को जग्गा दुई विघा , १५ कटठा १० धुर र किता नम्बर ९३ को जग्गा एक विघा ११ कट्टा हात पारेको खुलेको छ । वडा श्रोतका अनुसार भु माफियाले वडा कार्यालयमा सरकारी कार्यालयको कागजपत्र दर्ता नगराई सिधै वडा सदस्य सनिचर यादवलाई जग्गा र ।

कम दिएर वडाको कागजात तयार गरेको छ । स्रोतका अनुसार भारतीय नागरिक खोजेर फिल्डबुक अनुसार जग्गा खरिद गर्ने मान्छे खोज्ने र ३० औं वर्षदेखी बसोबास गर्दै आएकालाई उठीबास लगाउने योजनामा भुमाफियाहरु लगेका छन् । एता यसै विषयलाई लिएर भाण्टाबारीका घनशयम प्रसाद देवले वडा अध्यक्ष विन्देश्वर प्रसाद यादवलाई फिल्डबुकको जग्गामा ३० औं वर्षदेखी बसोबास गर्दै आएकोहरुको पनि एक वर्षभित्र बसेको भनी झुठो सिफारिस दिनका लागि दबाब दिएको खुलेको छ ।

देवले यादवलाई दबाव दिएको र यादवले सर्जमिन लेखेपछि उल्टै यादवलाई धाकधम्की दिएको वडाबासीहरुले बताएका छन् । यता यादवले पनि देवले आफूलाई दबाब दिएर काम गराउन खोजेको र नमानेपछि उल्टै आफू विरुद्ध खनिएको प्रतिकृया दिनुभयो । अध्यक्ष यादवले आफू ऐन, कानुन र नियम अनुसारको सबैको काम गरेको तर गैर कानुनी काम गर्न दबाव दिएकाले देवलाई नियमानुसार गर्न भन्दा उल्टै थकाएर गएको समेत गुनासो गर्नुभयो । देवले यस बारेमा आफूले सम्बन्धीत निकायमा जाने प्रतिकृया दिएका छन् ।