कोरली गाई पाएपछि विपन्न कृषकहरु खुशी
९ जेष्ठ २०७७, शुक्रबार १७:५४
इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिकाले कोरली गाई वितरण गरेपछि विपन्न कृषकहरु खुशी भएका छन । इटहरीका प्रमुख द्वारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले इटहरी वडा नम्वर २० का २५ जना कृषकलाई २५ वटा कोरली गाई वितरण गर्नुभयो ।
प्रयाप्त सामाजिक दुरी कायम गरेर ठूलो चौरमा कोरली गाई वितरण गरिएको हो । उपमहानगरले सतप्रतिशत अनुदानमा गाई वितरण गरेको हो । आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि कृषकलाई कोरोली गाई वितरण गरिएको प्रमुख चौधरीले वताउनुभयो । यो कार्यले इटहरीलाई दुधमा आत्मनिर्भर वनाउने उपमहानगरको अभियानलाई सहयोग पुग्ने उपमेयर गौतमको भनाई छ ।
उहाँका अनुसार अव वडा नम्वर १र२ का पचास जना कृषकलाई यसैगरि कोरोली गाई वितरण गर्ने कार्यक्रम छ । उपमहानगरले वडा नम्वर १,२ र २० लाई गाईपालन जोनका रुपमा क्षेत्र निर्धारण गरेको छ । इटहरी उपमहानगरको आन्तरिक श्रोत वाट यो कार्यक्रमका लागि २० लाख वजेट विनियोजन गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया