धनुषामा बस र टिप्पर ठोकिँदा १७ जना घाइते, टिप्पर​ चालक फरार – Nagarikabhiyan : National News

धनुषामा बस र टिप्पर ठोकिँदा १७ जना घाइते, टिप्पर​ चालक फरार

जनकपुर । बस र टिपर एकापसमा ठोक्किँदा १७ जना घाइते भएका छन् ।

धनुषाको मिथिला नगरपालिका–९ स्थित पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बस र टिपर एकापसमा ठोक्किँदा १७ जना घाइते भएको हो ।

घाइतेहरुलाई मोडेल अस्पताल लालगढमा उपचार भइरहेको छ भने टिप्पर​ चालक प्रहरीको फन्दाबाट फरार रहेकोे छ । ००१ क ०६९० नम्बरको टिपर र को.१ ख. ६६९१ नम्बरको बस एक आपसमा ठोक्किँदा उनीहरु घाइते भएको धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताउनुभयो ।

घाइतेमा बसका चालक काठमाडौँ महानगरपालिका बस्ने अन्दाजी ४२ वर्षीय केशव संग्रौला रहेकोे छ । उनको दुबै खुट्टा र हातमा गम्भीर चोट लागेको छ । साथै यस दुर्घटनामा परी पर्साको रानीघाट–८ बस्ने ४० वर्षीय नन्दु बैठा, मोरङको विराटनगर महानगरपालिका–४ बस्ने ४५ वर्षीय बद्री भुजेल, सप्तरीको हरिपुर चितामन–७ बस्ने ३० वर्षीया आशा देवी चौधरी, सप्तरीकै कञ्चनपुर–७ बस्ने ४० वर्षीय महिनारायण पण्डित, सर्लाहीको बागमती नगरपालिका–८ बस्ने १३ वर्षीया पर्वता ठकुरी, सर्लाहीको हरिपुर नगरपालिका–१ बस्ने ४८ वर्षीया यम कुमारी खडका, सर्लाहीको हरिवन नगरपालिका–२ बस्ने रञ्जु महराको ५ वर्षीय छोरा सुजित महरा, ७ वर्षीय छोरा अभिषेक महरा, सर्लाहीको बागमती नगरपालिका–४ बस्ने ४० वर्षीया राम प्यारी देवी महतो, सर्लाहीको ईश्वरपुर नगरपालिका–५ बस्ने सती देवी महतोकी ९ वर्षीया छोरी सोनु कुमारी महतो, पर्साको वीरगंज महानगरपालिका–१४ बस्ने ३७ वर्षीया अस्मिता पटेल, सोही ठाउँ बस्ने १४ वर्षीया सम्झना पटेल, १० वर्षीय आयुष पटेल, ९ वर्षीय अंश पटेल र १४ वर्षीय रितेश पटेल तथा सिरहाको गोलबजार नगरपालिका बस्ने १२ वर्षीया रुपा शाही ठकुरी घाइते भएका धनुषा प्रहरीले बताउनुभयो ।