सुदूरपश्चिम प्रदेशका सांसद झपट बोहरालाई निलम्बन गर्ने तयारी – Nagarikabhiyan : National News

सुदूरपश्चिम प्रदेशका सांसद झपट बोहरालाई निलम्बन गर्ने तयारी

माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशका सांसद झपट बोहरालाई निलम्बन गर्ने तयारी गरेको छ।

नेकपा माओवादी केन्द्रले ओली समूहमा लागेको भन्दै सांसद बोहोरालाई निलम्बन गर्ने तयारी गरेको हो।

माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलले बोहरा दलमा नरहेको जानकारीसहितको पत्र बिहीबार प्रदेशसभामा दर्ता गराएपछि उनी प्रदेशसभाबाट निलम्बन हुने प्रक्रिया सुरु भएको हो ।

सांसद बोहरा अछाम निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद हुन्। यसअघि आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका बोहराले साविक नेकपामा फाटो आएसँगै मन्त्री पदबाट राजीनामा दिएका थिए। उनी माओवादी केन्द्र छाडेर एमालेको ओली समूहमा लागेका हुन्।

माओवादी केन्द्र संसदीय दलका तर्फबाट प्रमुख सचेतक अक्कल रावलले प्रदेशसभा सचिवालयमा उनी दलमा नरहेको सूचना दर्ता गराएको प्रदेशसभा सभामुखको सचिवालयले जानकारी दिएको छ। राजनीतिक दलसम्बन्धी दफा ३४ मा दलमा त्याग गर्ने सदस्य सांसद नहुने व्यवस्था छ।