दल फेरेर मन्त्री बनेका टंक आङबुहाङलाई माओवादी केन्द्रले गरे सांसदबाट आउट – Nagarikabhiyan : National News

दल फेरेर मन्त्री बनेका टंक आङबुहाङलाई माओवादी केन्द्रले गरे सांसदबाट आउट

काठमाडौं ।  प्रदेश १ को आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भएका टंक आङबुहाङ लिम्बूलाई माओवादी केन्द्रले सांसदबाट हटाएको छ ।

 

प्रदेश १ सभा माओवादी केन्द्रको संसदीय दलले सोधेको स्पष्टीकरण चित्त बुझ्दो नभएको उनले दल फेरेर अनुमतिविना नै अर्को दलमा गएर मन्त्री बन्नु प्रदेश १ सभा संसदीय दलको विधान, राजनीतिक दलसम्बन्धी ऐनको प्रतिकूल भएकोले कारबाही गर्न बाध्य  गरी बर्खास्त गरेको नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।

 

ताप्लेजुङ (ख)बाट विजयी प्रदेश सांसद आङबुहाङ माओवादी केन्द्र संसदीय दलको नेता थिए । पछि एमाले माओवादी केन्द्रको एकता भएपछि उनी नेकपा संसदीय दलको उपनेता बनेका  थिए ।

माओवादी अध्यक्ष प्रचण्डनिकट मानिँदै आएका आङबुहाङले प्रदेश १ सरकारमा सिनियरको नाताले आफू मन्त्री हुनुपर्ने तीव्र आकांक्षा राख्दै आएका थिए । तर, पार्टी भित्रको सन्तुलनले गर्दा उनी मन्त्री हुनबाट वञ्तित भएका थिए ।

मन्त्री हुन नपाएपछि उनले वेला–वेला आफूलाई प्रदेशको वैकल्पिक मुख्यमन्त्रीका रूपमा पनि चर्चामा ल्याउने गरेका थिए । पछिल्लो समयमा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउँदा आफूलाई मुख्यमन्त्री र दलको नेताका रूपमा प्रस्ताव नगरेको भन्दै उनी रुष्ट बनेका थिए । उनले गत २८ फागुनमा एमाले केन्द्रीय सदस्यको शपथग्रहण गरेका थिए ।

मुख्यमन्त्री शेरधन राईले आङबुहाङलाई पुरस्कारस्वरूप १३ चैतमा विस्तार गरेको मन्त्रिपरिषदबाट प्रदेश १ को आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त गरेका थिए ।