अध्यक्ष ठाकुरले गरे यस्तो प्रश्न मधेशी र थारुहरु किन अहिलेसम्म पनि जेलमा?
१७ चैत्र २०७७, मंगलवार १६:४७
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले मुलुकमा सबैलाई डेमोक्रेसी हो भने मधेशी र थारुहरु किन अहिलेसम्मपनि जेलमा भन्दै प्रश्न गरेका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालको २३औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले यस्तो बताएका हुन् ।
उनले संविधान संशोधनको कुरा आफूहरुको मात्रै नभएर देशकै माग भएको पनि टिप्पणी गरेका छन् । अध्यक्ष ठाकुरले नागरिकताको समस्या मात्र मधेशको समस्या नभएर देशकै समस्या भएको समेत बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओली सरकारको नेतृत्वमा आएकै दिनदेखि सरकारमा आउनको लागि आग्रह गरेको सुनाए । तर, आफ्ना मागहरु पूरा नभएसम्म सरकारमा सहभागी नहुने उनको भनाई छ । आफूहरुले उठाएका माग पूरा गर्नको लागि अन्तिम तयारी भएको कुरा सुन्नमा आएको भन्दै त्यसको लागि ओलीलाई उनले धन्यवाद दिएका छन् ।
उनले ओलीसँग आफ्नो लगातार भेट भैरहेको भएपनि ठोस सहमति नभएको जिकिर गरे । प्रमुख दलहरु नै एक आपसमा नमिलेको पनि टिप्पणी गरे । त्यस्तैनेपालको राजनीतिमा अहिले स्थिरता नभएको दाबी गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया