नेपाल र रावलको स्पष्टीकरण कारबाहीयोग्य छ : ओली
१३ चैत्र २०७७, शुक्रबार १९:४७
काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलले पठाएको स्पष्टीकरण ‘कारबाहीयोग्य’ रहेको धारणा व्यक्त गरेका छन्। यसअघि ७ चैतको केन्द्रीय कमिटी र संसदीय दलको बैठक बहिस्कार गरेको नेपाल समूह शुक्रबार बोलाइएको एमाले संसदीय दलको बैठकमा उपस्थित भएको थियो ।
आजको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले यसअघि चार जना नेतालाई सोधिएको स्पष्टीकरणपत्रको सवालमा पनि चर्चा गरेका थिए । प्रमुख सचेतक विशाल भट्टराईका अनुसार प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष भीम रावलको स्पष्टीकरणपत्रको जवाफ हेर्दा कारबाहीयोग्य रहेको कुरा बताएको सुनाए ।
ओलीले नेपाल र रावलको स्पष्टीकरण अत्यन्त नकरात्मक रहेको संसदीय दलको बैठकमा बताएका थिए। ‘प्रधानमन्त्रीले भनेको शब्द यही हो- प्राप्त भएका स्पष्टीकरण नकरात्मक र कारवाहीको भागीदार छ। बाँकी दुई जनाको त्यो कोणबाट नभई पार्टी एकढिक्का राख्न मद्दत पुग्ने खालका स्पष्टीकरण आउनेछ भन्ने अपेक्षा राखेको छु भनेर प्रधानमन्त्रीले भन्नुभएको छ।’
आजको बैठकमा प्रधानमन्त्री ओलीले गत फागुन २८ गतेको केन्द्रीय कमिटी बैठक र चैत्र ५ र ७ गतेको संसदीय दलको बैठकले गरेका निर्णय कुनैपनि हालतमा फिर्ता नहुने प्रष्ट पारेका थिए । प्रधानमन्त्री तथा अध्यक्ष ओलीको भनाई उदृत गर्दै मुख्य सचेतक विशाल भट्टराईले भने,‘फागुन २८ गतेको केन्द्रीय कमिटी बैठकका निर्णय र चैत ५ र ७ गतेको संसदीय दलले गरेका निर्णय तथा विधान संशोधन कुनै हालतमा फिर्ता हुँदैनन् । तपाईंहरू यसबीचमा बैठकमा आउनुभएन, अब आउनु भएको छ स्वागत छ तर गुटगत डिल हुँदैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया