कोरोनाबाट कसैको ज्यान जान नदिने सरकारको प्रयास असफल : प्रधानमन्त्री
६ जेष्ठ २०७७, मंगलवार १३:०२
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरस (कोभिड–१९)बाट कसैको पनि मृत्यु हुन नदिने सरकारको प्रयास असफल भएको बताएका छन् ।
आज (मंगलबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
‘हाम्रो प्रयास कोही पनि नेपालमा कोरोनाको कारणले वा कोरोना संक्रमित भएको अवस्थामा कसैले पनि ज्यान गुमाउनु नपरोस् थियो । हाम्रो प्रयास विभिन्न कारणहरूले असफल भएको छ र २ जनाको निधन भएको छ ।’ प्रधानमन्त्री ओलीले भने–‘कोरोनाभन्दा अरु जटिलताले निधन भएको हुनसक्छ । विश्वस्वास्थ्य संगठनको मापदण्डअनुसार जुनसुकै अवस्थाले निधन भएको भएपनि कोरोना संक्रमण भएको छ भने त्यसैबबाट भएको मान्नुपर्ने हुन्छ ।’
साथै उनले मुलुकमा अरुले कोरोनाबाट ज्यान गुमाउन नपरोस् र अरुमा संक्रमण हुन नपाओस् भनेर सरकारले उच्च सतर्कता अपनाइरहेको समेत दाबी छ ।
बढी परीक्षण गर्ने, भरपर्दो ढंगले परीक्षण गर्ने । क्वारेन्टाइन भरपर्दो गर्ने र आइसोलेसन व्यवस्थित गर्ने र उपचारको राम्रो प्रबन्ध गर्नेमा सरकारको ध्यान गएको प्रधानमन्त्री ओलीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया