स्थानीय तह र प्रदेश नेपाल सरकारकै अंग : प्रधानमन्त्री ओली
११ चैत्र २०७७, बुधबार १९:२०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह र प्रदेश सरकार नेपाल सरकारकै अंग भएको बताएका छन् ।
काठमाडौंमा बुधबार आयोजित नेपाल नगरपालिका संघको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्थानीय तह र प्रदेश सरकार पृथक नभएको बताए ।
‘स्थानीय तहले सबै चिज केन्द्रीय सरकारले जस्तो गर्न खोज्छु भन्यो भने त्यो हुँदैन, सम्भव पनि छैन’, प्रधानमन्त्री ओलीले भने, ‘प्रदेशले पनि सरकार भनेको उस्तै उस्तै हो भनेर भ्रम राख्नुहुँदैन ।
जनतालाई सेवा सुविधा पु¥याउन, समाजको विकास गर्न र आर्थिक उन्नती गर्न सजिलोका लागि विभिन्न तहमा बाँडिएको तर यो नेपाल सरकार नै भएको उनको तर्क छ । ‘सबै तहका सरकार भने पनि तहका सरकार मात्रै हुन्, ओलीले थपे, ‘सबै नेपाल सरकार मातहत हुन्, यो पृथक होइन ।’
ओलीले केन्द्र, प्रदेश र स्थानीय सरकारबीच तालमेल मिलाएर काम गर्नुपर्ने पनि बताए । ओलीले केन्द्रको गच्छेअनुसार स्थानीय तहलाई सहयोग पु¥याउन कुनै कसर बाँकी नराख्ने बताए । तर, ७० प्रतिशत बजेट स्थानीय तहले माग गर्नु उचित नभएको तर्क गरे । ‘७० प्रतिशत बजेट स्थानीय तहमा भनेको सुन्दा अलिकति मिलेन कि जस्तो लाग्छ । ७० प्रतिशत बजेट दिएर त्यहाँ ओछ्याउने हो र ? त्यत्ति बजेट त्यहाँ पठाएर केन्द्र, प्रदेशले के गर्छन् ?’ केन्द्र सरकारले गरेको बजेट खर्च पनि स्थानीय तहकै विकासमा जाने उनले बताए ।
संघीयता कार्यान्वयनकै अभ्यासमा भएको भन्दै ओलीले समयक्रममा समस्या हल हुँदै जाने बताए । ‘हामीले भर्खर यो अभ्यास सुरु गरेको छौं । नयाँ अभ्यास भएको हुँदा एकैपटक हुँदैन । बच्चा जम्मँदै नाच्ने, गाउने हुन्छ र ? यो पनि त्यस्तै हो,’ उनले भने, ‘यो समस्या त तल पनि छ । वडाध्यक्षको आफ्ना गुनासा छन्, उपमेयरका गुनासा छन् । यो समस्या अभ्यासबाट परिमार्जित हुने क्रममात्रै हो । प्राप्त उपलब्धिहरुको रक्षा गर्दै जाने हो ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया