आज विश्व कविता दिवस
८ चैत्र २०७७, आईतवार १०:२४
काठमाडौँ । आज विश्व कविता दिवसको अवसरमा विभिन्न साहित्यीक संस्थाले विशेष कार्यक्रम गरी मनाउँदै छन् ।
सन् १९९९ मा संयुक्त राष्ट्रसंघको शैक्षिक तथा सांस्कृतिक संगठन युनेस्कोले मार्च २१ तारिखलाई विश्व कविता दिवसका रुपमा मनाउने घोषणा गरेपछि दिवस मनाउन थालिएको हो ।
कविताले मानिसको वाक स्वतन्त्रतालाई बल पुर्याउने भएकाले समृद्ध समाजका लागि निकै महत्वपूर्ण रहेको युनेस्कोले जनाएको छ ।
कविता संवादको शक्तिशाली माध्यम रहेको र यसले समुदाय एवम् व्यक्तिबिच विश्वासको सम्बन्ध बिस्तारका लागि सहयोग गर्ने युनेस्कोको भनाई छ ।
कवितामा गरिने प्रस्तुतिले अभिव्यक्तिको अनेक ढोका खोल्ने र यसले सहकार्य तथा समन्वयका लागि वार्ताको वातावरण बनाउने गरेको युनेस्कोले जनाएको छ । कवितात्मक अभिव्यक्तिले भाषाको संरक्षणमा पनि सहयोग पुग्ने युनेस्कोको भनाई छ ।
कविताको आधार मौखिक रुपमा पुस्ता पुस्तामा हस्तान्तरण हुँदै आएको कलात्मक प्रस्तुतिसँग जोडिएको छ । दिवसले यो सँस्कृतिलाई सहयोग पुर्याउने अपेक्षा पनि गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया