विश्व बैंकले कोभिड खोपका लागि नेपाललाई ८ अर्ब ७१ करोड सहयोग गर्ने – Nagarikabhiyan : National News

विश्व बैंकले कोभिड खोपका लागि नेपाललाई ८ अर्ब ७१ करोड सहयोग गर्ने

काठमाडौं । विश्व बैंकले नेपाललाई कोभिड-१९ विरुद्धको खोपका लागि ७ करोड ५० लाख डलर ( करिब ८ अर्ब ७१ करोड ३० लाख) सहयोग गर्ने भएको छ ।

बिहीबार विश्व बैंकको कार्यकारी सञ्चालक समितिले नेपाललाई कोभिड-१९ विरुद्धको खोपका लागि ७ करोड ५० लाख डलर सहयोग गर्ने प्रस्ताव पारित गरेको हो।

विश्व बैंकका अनुसार सुरक्षित र प्रभावकारी कोभिड-१९ विरुद्धको खोपमा नेपाली नागरिकको समान र सहज पहुँच सुनिश्चित गर्न इन्टरनेसनल डेभलपमेन्ट एसोसियसन (आईडीए) मार्फत् नेपाललाई सहयोग गर्न लागिएको हो । साथै, यस आर्थिक सहायताबाट नेपालको झण्डै एकतिहाइ जनसंख्यालाई खोप लगाउन सहजीकरण हुने अपेक्षा गरिएको विश्व बैंकले जनाएको छ ।

विश्व बैंक यसअघि गत अप्रिल महिनामा कोभिड-१९ आपत्कालीन पहल तथा स्वास्थ्य प्रणाली तयारी परियोजनाअन्तर्गत नेपाललाई २ करोड ९० लाख डलर सहायता गरेको छ ।

नेपाली जनताको शारीरिक स्वास्थ्य र मुलुकको आर्थिक स्वास्थ्यको सुरक्षा गर्नका लागि नेपाललाई यो सहयोग निकै महत्वपूर्ण हुने विश्व बैंकको अपेक्षा रहेको छ ।