धरानमा इद राहत
५ जेष्ठ २०७७, सोमबार १७:०१
इनरुवा । सुनसरीको धरानमा धरान मुस्लिम समाजले दोस्रो चरणको ‘इद राहत प्याकेज’ वितरण गरेको छ । सोमबार धरान–३ स्थित गहुँधारामा एक सय ५० परिवारलाई ‘इद राहत प्याकेज’ वितरण गरेको हो । हालसम्म समाजले दुई चरण गरेर ३ सय जना परिवारलाई राहत वितरण गरेको समाजका संयोजक फिरोज अलीले बताउनुभयो । उहाँका अनुसार थप ८० जना परिवारलाई रमजानको २९ औं दिनका दिन वितरण गरिने भएको छ ।
देशविदेशबाट प्राप्त सहयोग र व्यक्तिगत रकम जुटाएर राहत वितरण गरिरहेको हो । धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले राहत वितरण गर्नुभयो । उहाँले मुस्लिम समुदायले यो रमजानपछि आउने इद उल फित्रमा आफ्नो भागको केही अंश गरिबलाई बाँड्ने जुन परिपाटी छ त्यो सह्राना योग्य रहेको बताउनुभयो ।
उहाँले यसबाट अन्य धर्मालम्बीहरूले पनि सिक्न जरुरी रहेको बताउनुभयो । उहाँले यसक्रममा इदको शुभकामना पनि दिनुभयो । त्यसक्रममा नेकपाका धरान नगर इन्चार्ज चोत्लुङ पनि सहभागी बन्नुभएको थियो । समाजलाई राहत वितरणका लागि संघीय सांसद् जयकुमार राई, नेकपाका जिल्ला सदस्य प्रकाश राईले जनही १० हजार रुपियाँ सहयोग गरेका थिए ।
त्यस्तै धरानको मितेरी विकास बैकले १४ हजार ५ रुपियाँ, मुस्लिम समाजका उपसंयोजक मोहम्मद समीमले २५ हजार रुपियाँ, अष्ट्रेलियाबाट रिजाला खातुनले २० हजार र स्वयम् आफैले पनि व्यक्तिगत नगद ७ हजार रुपियाँ सहयोग गरेको उहाँले बताउनुभयो । जुनसुकै समुदायका गरिब तथा विपन्न नागरिकहरूलाई राहत वितरण गरिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया