बर्दियामा मानिसलाई आक्रमण गर्ने बाघ नियन्त्रणमा
४ चैत्र २०७७, बुधबार २०:२२
बर्दिया । बाघको आक्रमणबाट स्थानीयको मृत्यु हुने क्रम बढेपछि बर्दियामा एउटा बाघ नियन्त्रणमा लिइएको छ। बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका क्षेत्रबाट उक्त बाघलाई नियन्त्रणमा लिएको हो।
बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठका अनुसार बुधबार बेलुका उक्त बाघलाई नियन्त्रणमा लिइएको हो। उक्त बाघले बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्र तथा खाता जैविक मार्ग आसपासमा मान्छे तथा पशुचौपाया आक्रमण गरी ज्यान लिने गरेको थियो।
श्रेष्ठका अनुसार यही बाघले सात जना मानिसको ज्यान लिएको आशंका गरिएको छ। नियन्त्रणमा लिइएको बाघलाई निकुञ्ज मुख्यालय ठाकुरद्वारा ल्याइएको छ। उक्त बूढो भाले बाघको खुट्टामा चोट र केही दाँतसमेत झरेको अवस्थामा नियन्त्रणमा लिइएको हो।
मङ्गलबार दिउँसो एक महिलालाई पाटेबाघले आक्रमण गरेर ज्यान लिएको थियो। त्यस लगत्तै निकुञ्जको प्राविधिक टोलीले बाघको अनुगमन गरिरहेको थियो। पाटेबाघको आक्रमणबाट मङ्गलबार एक जना महिलाको ज्यान गएसँगै बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा यस वर्ष ज्यान गुमाउनेको सङ्ख्या १० पुगेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया