पार्टीमा भाँडभैलो मच्चाउनेलाई कारबाही : प्रधानमन्त्री
३ चैत्र २०७७, मंगलवार १३:३३
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्लाई निष्प्रभावी बनाउने खेल भएको आरोप लगाएका छन्। चियापान कार्यक्रमलाई संवोधन गर्दै ओलीले प्रतिनिधि सभा पुनस्स्थापना भएपछिको पहिलो दिनदेखि नै व्यवधान खडा गरिएको बताएका हुन्।
’प्रतिनिधि सभा विघटन गर्नुको कारण पुष्टि हुँदैछ,’ ओलीले भनेका छन्, ‘संविधानअनुसार अधिवेशन शुरू भएको पहिलो दिन नै अध्यादेशहरू पेश गर्नुपर्छ, संसद्बाट कानून ल्याएर जाँदा धेरै ढिला हुने थियो, बीचमा धेरैको ज्यान जान सक्थ्यो, त्यसैले अत्यावश्यक अध्यादेश ल्याइएको थियो, तर व्यवधान खडा गरियो।’ अध्यादेश पेश गर्न जाँदा सभामुख मन्त्रीलाई रोकेका र पछि बैठक कार्यसूची बदलेर बैठक नै अर्को दिन बस्नेगरी सारिएकोप्रति ओलीले असन्तुष्टि प्रकट गरे।
‘संविधान कार्यान्वयनमा सभामुखको जुन कर्तव्य थियो, त्यसभन्दा पर भिन्न प्रकारका सहमति भए, सेटिङबाट संविधानको कार्यान्वयन हुन नदिन खोजियो,’ ओलीले थपे, ‘संसद्लाई कति निष्प्रभावी र कामकाजी बनाउन खोजियो भन्ने प्रष्ट भयो।’ अदालतले फैसला गर्नुभन्दा अघि नै पार्टी फुटाइएको पनि ओलीले दाबी गरे। आफूहरूलाई बाटो/बाटोमा बैठक बसेर जिम्मेवारीबाट हटाउने काम भएको र विधि तथा पद्धतिलाई बाटोमै पुर्याइएको ओलीले बताए।
ओलीले गुटगत भेलामा नजान नेता कार्यकर्तालाई आग्रह गरेका छन् । माधवकुमार नेपाल समूहको नाम नलिई उनले केही मानिसहरुले भेला आयोजना गर्दैछन् भन्ने सुनेको भन्दै एमालेसँग आवद्ध, सम्वद्ध कोही नेता कार्यकर्तालाई गुटगत भेला नगर्न र नजान सचेत गराए । ओलीले भने, ‘केही मानिसहरु निहुँ खोजिरहेका छन् । भोलि राष्ट्रिय भेला बोलाउने, प्रतिवेदन पास गर्ने अरे, समानान्तर कमिटी बनाउने अरे ।’
‘अब अराजकता, विधि विधान विपरीत काम, एकताविरोधी क्रियाकलापमा छुट हुने छैन’ उनले अघि भने, ‘अचाक्ली भयो । पार्टीलाई पार्टीका रुपमा चल्न नदिने, भाँडभैलो मच्चाउने गतिविधि हुन सक्दैन ।’ पार्टीको विधान, दलसम्बन्धी कानून रहेको भन्दै ओलीले यसबारे सबैको ध्यानाकर्षण गराउन चाहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया