महाशिवरात्रिको अवसरमा हिन्दु र मुस्लिम समुदाय मिलेर ७२ घण्टे सुरु गरे अष्टजाम – Nagarikabhiyan : National News

महाशिवरात्रिको अवसरमा हिन्दु र मुस्लिम समुदाय मिलेर ७२ घण्टे सुरु गरे अष्टजाम

काठमाडौं ।    समाजमा आपसी भाईचारा र धार्मिक सहिष्णुता कायम राख्न वैदिक सनातन हिन्दु धर्मावलम्बीहरुको महान पर्व महाशिवरात्रिको अवसरमा विराटनगरका मुस्लिम समुदाय मिलेर अष्टजाम सुरु गरिएको छ।

नेपाल धार्मिक रुपमा समाज एक भएको सन्देश दिन हिन्दु-मुस्लिम मिलेर ७२ घण्टे अष्टजाम सुरु गरेका हुन्।  विराटनगर- ११ स्थित रहेको सब्जी फलफूल तथा गुद्धी बजार व्यवस्थापन समितिको अगुवाईमा हिन्दु र मुस्लिम व्यापारीहरुले सामुहिक रुपमा अष्टजाम सुरु गरेका हुन्।

प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा पर्ने दिन मनाइने महाशिवरात्रि पर्व भगवान् शिवलाई खुशी पार्ने विशेष दिन भएकाले राजनीतिक फाइदा लिने गरी गरिने धार्मिक मतभेद हुन नदिन हिन्दु-मुस्लिम मिलेर अष्टजाम सुरु गरेको बजार व्यवस्थापन समितिका सचिव साहेव अहमद गुड्डु (मियाँ)ले बताए ।

मुलुकमा दीगो शान्ति र जनभावना अनुसारको विकास गर्न ७२ घण्टे हिन्दु –मुस्लिम समुदायका व्यापारीहरुको संयुक्त निर्णयले उक्त अष्टयाम सुरु गरेका हुन् ।समाजमा विभिन्न धर्मालम्वीहरु रहेकाले कुनै धार्मिक भावनामाथि ठेस पुग्ने काम गर्न नहुने र प्रत्येक धर्म ,रितिरिवाजलाई संरक्षण गर्न,  एक आपसमा सहयोग गर्ने भावना जागृत गराई आपसी भाईचारालाई झन बलियो बनाउन सन्देश दिन अष्टजाम आयोजना गरिएको अध्यक्ष पशुपति भगतले बताए ।

समाजमा आपसी भाईचारा र धार्मिक सहिष्णुता अभिबृद्धि गरी हिन्दु र मुस्लिम समुदाय एकैसाथ प्रसाद वितरण गर्ने गरेका छन्।