आन्तरिक छलफलमा जुटे ओली र प्रचण्ड–नेपाल समूह, संसदिय बैठकमा मुठभेड हुने सम्भावना! – Nagarikabhiyan : National News

आन्तरिक छलफलमा जुटे ओली र प्रचण्ड–नेपाल समूह, संसदिय बैठकमा मुठभेड हुने सम्भावना!

काठमाडौं ।  सर्वोच्च अदालतको पुनर्स्थापना फैसलासँगै आज पहिलोपटक बस्न लागेको प्रतिनिधि सभा बैठकअघि नेकपाका दुवै पक्ष आन्तरिक छलफलमा जुटेका छन्। आज अपराह्न ४ बजे प्रतिनिधि सभाको सातौं अधिवेशन सुरु हुँदैछ।

बैठकमा कसरी प्रस्तुत हुने भनेर प्रचण्ड–नेपाल र ओली समूहले आ-आफ्ना तयारीमा जुटेका छन् । यसै क्रममा प्रचण्ड निवास खुमलटारमा प्रचण्ड–नेपाल पक्षको सचिवालय बैठक बसिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले चाल्न सक्ने रणनीति असफल पार्ने विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिएका छन्।
उता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पनि बिहानैदेखि छलफल भइरहेको स्रोतले जनाएको छ। उच्च स्रोतका अनुसार प्रधानमन्त्री ओली भेट्न बिहानै सञ्चारमन्त्री पार्वत गुरुङलगायत मन्त्री तथा सांसद पुगेका थिए ।

आज सुरु हुने संसद् बैठकमा सभामुख अग्नि सापकोटा प्रचण्ड–नेपाल पक्षलाई दलको मान्यता दिने गरी अघि बढे प्रतिवाद गर्ने र महाभियोगसम्मको प्रस्ताव अघि बढाउने विषयमा छलफल भएको श्रोतले जानाएको छ ।

ओली र प्रचण्ड-नेपाल दुवै समूहले जसरी भए पनि बैठक आफ्नो पक्षमा पार्ने र नेकपाको आधिकारिकता प्रमाणित गर्न जस्तोसुकै कदम चाल्न पनि पछाडि नपर्ने तयारीसहित प्रस्तुत हुने तयारी गरेको छ । दुवै समूहको यो अडानले आजको संसद् बैठकमा मुठभेड हुने जोखिम देखिएको छ।