बोराभित्र स्याउला र ढुंगाले पुरिएको अवस्थामा युवतीको शव फेला – Nagarikabhiyan : National News

बोराभित्र स्याउला र ढुंगाले पुरिएको अवस्थामा युवतीको शव फेला

गुल्मी । गुल्मीमा एक युवतीको शव बोराभित्र स्याउला र ढुंगाले ढाकेको अवस्थामा फेला परेको छ ।

गुल्मीको रेसुङ्गा नगरपालिका–३ स्थित भाडगाउँमा सोमबार बिहान युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए । शवको पहिचान भइनसकेको उनले बताए ।

स्थानीय लालबहादुर खत्रीले घाँस काट्ने क्रममा शवको गन्ध आएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । बारीको कुनामा टाउको बोरामा राखेर स्याउला ढुंगाले ढाकोको अवस्थामा शव फेला पारेको डिएसपी पाण्डेले बताए ।

सोही गाउँमा गत माघ २९ गते रातिदेखि २१ वर्षीया सम्झना बोहरा बेपत्ता भएकी थिइन् । भेटिएको शव उनकै हुनसक्ने प्रहरीको अनुमान छ । सम्झनाको माइती पक्ष घटनास्थलमा अझै आइनपुगेकाले शव पहिचान हुन सकेको छैन ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सम्झना बेपत्तम भएको दुई दिनपछि फागुन २ गते सासु तोमकली खत्री घर नजिकै खनियाको रुखमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।नागरिकखबरबाट