दलित शिक्षक माथि जातीय दुर्व्यवहार, विद्यार्थी आन्दोलित – Nagarikabhiyan : National News

दलित शिक्षक माथि जातीय दुर्व्यवहार, विद्यार्थी आन्दोलित

काठमाडौ । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३ गौरीडाँडास्थित जनता माविका शिक्षक नेत्रबहादुर रम्तेलमाथि एक अभिभावकले जातीय दुव्र्यवहार गर्दै कुटपिट गरेका छन् ।

शिक्षक रम्तेलमाथि जातिसूचक शब्दहरू प्रयोग गरी गौरीडाँडाकै मनीष अर्यालले दुव्र्यवहार गर्दै कुटेपछि विद्यार्थीहरूले इलाका प्रहरी कार्यालयमा नाराबाजी गर्दै आन्दोलित बनेका थिए। २७ वर्षदेखि अध्यापन गराउँदै आएका रम्तेल सो विद्यालयका पूर्वप्रधानाध्यापकसमेत हुन् । हाल उनी प्राविधिक धार, दश प्लस दुई र अन्य संकायका इन्चार्ज छन् । बिहीबार साढे ४ बजेतिर विद्यालयपरिसरमै आएर अर्यालले विद्यार्थीलाई मधेसी र पहाडेका रूपमा विभाजित गराएको आरोप लगाउँदै दुव्र्यवहार सुरु गरेका थिए । त्यसक्रममा उनले सर्टको कलर समातेर लछारपछार गर्दै कुटपिट गरेका थिए । शिक्षक रम्तेलको कोर्ट, सर्ट र गन्जी च्यातिएको छ । अर्यालले ढुंगाले समेत हिर्काएका थिए ।

शिक्षक रम्तेलले शुक्रबार आफूमाथि भएको जातीय विभेद र कुटपिटविरुद्ध उनले प्रहरीमा जाहेरी दिएका छन् । शुक्रबार सयौँ विद्यार्थीको प्रदर्शन
घटनाको विरोधमा विभिन्न शिक्षक संगठनले विज्ञप्ति निकालेर विरोध जनाएका छन् । उनीहरूले शिक्षकलाई जातीय दुव्र्यवहार तथा कुटपिट गर्ने अर्याललाई कडा कारबाहीको माग गरेका छन् । प्रहरीले अर्याललाई कारबाही नगर्ने आशंका गर्दै शुक्रबार विद्यार्थीले जुलुस निकालेका छन् । सयौँ विद्यार्थी प्रदर्शनमा निस्किएपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले घटनाबारे जाहेरी दर्ता भइसकेकाले दोषीलाई कारबाही हुनेमा ढुक्क हुन आग्रह गरे । प्रहरीले जाहेरीको आधारमा अनुसन्धान अगाडि बढाएको छ ।