काठमाडौं पुगेकी महिलामा कोरोना संक्रमण पुष्टि भएपछि कैलालीको अत्तरिया सील
१ जेष्ठ २०७७, बिहीबार १२:२१
धनगढी । कञ्चनपुरबाट काठमाडौं पुगेकी ३३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएपछि कैलालीको अत्तरिया क्षेत्र सील गरिएको छ ।
कञ्नपुरबाट अत्तरिया हुँदै काठमाडौं आएपछि उनी बसेको अत्तरियाको विजयनगर टोललाई सील गरिएको हो ।
गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टका अनुसार उनी वैशाख २८ गते कञ्चनपुरको वेदकोट नगरपालिका १० बाट काठमाडौं आउँदा अत्तरियामा बसेकी थिइन् ।
गोदावरी नगरपालिका १ अत्तरियास्थित सशस्त्र बाहिनी अगाडिको घरमा करिब २ घण्टा बसेको उनको ट्राभल हिस्ट्री (यात्रा विवरण) बाट खुलेको छ । कञ्चनपुरबाट काठमाडौं आएकी ती महिलामा मंगलबार कोरोना पोजेटिभ देखिएको थियो ।
काठमाडौं बस्दै आएकी उनी चैत ६ गते काठमाडौंबाट कञ्चनपुर पुगेकी थिइन् । त्यसपछि वैशाख २८ गते एक छोरा र एक छोरीसँगै सशस्त्र प्रहरीकै भ्यानमा काठमाडौं फर्किएको भए पनि अरुमा भने कोरोना संक्रमण देखिएको छैन ।
उनीसहित छोराछोरी गरी ३ जना र भ्यानमा रहेका अन्य २ जना गरी सोहि साँझ कोहलपुर बसेका उनीहरु वैशाख २९ गते काठमाडौं पुगेका थिए । संक्रमित महिला बसेको घर लगायत उनको घरवरिपरिका ७० जनाको स्वाब संकलन गरी कोरोना परीक्षण गरिने भएको छ ।
गोदावरी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख वीर बहादुर कुँवरले सबै घरहरुलाई सील गरेर बिहीबारसम्ममा स्वाब संकलन गरिने बताए । द नेपालटपबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया