पोखरा जाँदै गरेकी युवतीको मोटरसाइकल दुर्घटनामा मृत्यु
२ फाल्गुन २०७७, आईतवार १२:२५
तनहुँ । तनहुँको आँबुखैरेनी बजार चोकमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा मध्यनेपाल नगरपालिका ६ लमजुङका १७ वर्षीया अन्वेषा पौडेलको मृत्यु भएको हो । सोही दुर्घटनमा मोटरसाइकल चालक युवराज घिमिरे सामान्य घाइते छन् ।
बिहान ८ बजेतिर मुग्लिनबाट पोखरातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको एनएल ०१ एन २९८६ ग्याँस बुलेटलाई ओभरटेक गर्ने क्रममा गोरखाबाट मुग्लिनतर्फ आउदै गरेको ग ३ च २०८४ नम्बरको निजी कारसँग ना १९ प ९२४ नम्बरको मोटरसाइकल ठक्कर खादा दुर्घटना भएको हो ।
दुर्घटनामा पछाडि बसेकी पौडेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख विकास थापाले जानकारी दिए ।
मृतक पौडेल पोखरामा कक्षा १२ मा अध्ययनरत रहेको र आज बिहान चितवनस्थित आफन्तको घरबाट पोखरा फर्कने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
मृतकको शव पोष्र्टमार्टमको लागि दमौली पठाईएको प्रनि थापाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया