अर्काे चरणको आन्दोलन घोषणा गर्दै प्रचण्ड–माधव समूह – Nagarikabhiyan : National News

अर्काे चरणको आन्दोलन घोषणा गर्दै प्रचण्ड–माधव समूह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध अर्को चरण्को आन्दोलन घोषणा गर्ने भएको छ । संसद विघटनपछि निरन्तर सडक संघर्षमा रहेको यो समूहले आज अर्काे चरणको संघर्षका कार्यक्रम घोषणा गर्न लागेको हो ।

केन्द्रीय संघर्ष समितिले आइतबार दिउँसो पत्रकार सम्मेलनमार्फत कार्यक्रम घोषणा गर्न लागेको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । पार्टी कार्यालय कोटेश्वर, पेरिसडाँडामा दिउँसो २ बजे अर्काे चरणको कार्यक्रम घोषणा हुने सचिव ढकालको भनाइ छ ।

संविधानविपरित प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेको भन्दै संसद पुनर्स्थापनाको लागि प्रचण्ड–माधव समूह आन्दोलनमा छ । प्रधानमन्त्री ओलीको कदमविरुद्ध नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, विवेकशील साझालगायतका दल पनि आन्दोलित छन् ।

यसैगरी प्रतिबन्धित विप्लव समूह, महोन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, ऋषि कट्टेल नेतृत्वको नेकपा र आहूतिको नेतृत्वमा रहेको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी रणनैतिक मोर्चा नै बनाएर सरकारको गलत कदमविरुद्ध संघर्षमा उत्रिएका छन् ।

प्रतिनिधिसभा विघटन गर्ने ओली कदमलाई पूर्वप्रधानन्यायाधीश, वरिष्ठ कानूनविद्, संविधानविद्, वरिष्ठ पत्रकार, राजनीतिक विश्लेषकसहित नागरिक अगुवाहरुले पनि विरोध जनाइरहेका छन् ।