एमसीसी संसद विघटनको कारण होइन : झलनाथ खनाल
२३ माघ २०७७, शुक्रबार १९:०६
काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टीको विधि तथा पद्धति भन्दा आफूलाई माथि ठानेकै कारण प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरेको खनालले बताएका छन् ।
गृह जिल्ला इलाम जाने क्रममा झापाको विर्तामोडमा पत्रकारहरूसंँग कुरा गर्दै खनालले प्रधानमन्त्री ओलीले पार्टीको स्थायी कमिटी तथा सचिवालयको निर्देशन नमानेर मुलुकमा एकतन्त्र शासन चलाउन खोजेको आरोप लगाए ।
उनले भने, ‘एमसीसी सम्झौताको बारेमा अमेरिकी सरकारसंग पुनः कुरा गरेर परिमार्जन गरेर मात्र लागू गर्ने पार्टीको अडानलाई प्रधानमन्त्री ओलीले अस्वीकार गरेका हुन् तर संसद विघटनको मूल कारण भने त्यो होइन ।’
नेता खनालले भने, ‘देशमा एमसिसी लागु गर्ने विषयमा जुन सम्झौता अमेरिकासँग भएको छ, त्यस सम्झौताको बारेमा हाम्रा केही विषयहरु स्पष्ट छन्, अमेरिका सरकारसँग छलफल गरेर एमसिसी परिमार्जन र परिष्कृत गरेर लागु गर्नुपर्छ भन्ने पार्टीको अडान छ, त्यो अडानलाई ओलीले अस्वीकार गरेको पक्कै हो, तर प्रतिगमनको मुख्य कारण यसलाई मान्न सकिन्न ।’
संवैधानिक आयोगहरूमा एकलौटी ढंगमा नियुक्ति गर्दै जानु तानाशाही प्रक्रिया भएको नेता खनालको भनाइ थियो ।
प्रतिनिधि विघटनविरुद्ध परेका रिटमा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेका बेला अदालतले न्याय दिनेमा विश्वस्त रहेको उनले बताए । सर्वोच्च अदालत कुनै हुकुमी शासकले बनाएको अदालत नभएको पनि उनले बताए ।
‘राजा, महाराजा, सेटिङफेटिङले बनाएको अदालत होइन, उनले भने, ‘०६२ ÷६३को जनक्रान्तिमार्फत निर्माण गरिएको संविधानबमोजिम बनेको अदालत हो, त्यसो हुनाले यो अदालतले लोकतन्त्रको रक्षा गर्दै संसद् पुनर्स्थापना गरेर नेपाली जनतालाई न्याय दिन्छ भन्नेमा हामीलाई पूर्ण विश्वास छ ।’
सरकारले सडकमा जुलुस निकालेर डंका पिट्ने काम गरिरहेको पनि उनले आरोप लगाए । खनालले भने, ‘२०४६ सालपछि कुनै पनि सरकारले यसरी सडकमा जुलुस निकालेको इतिहास छैन, तर ओली नेतृत्वको सरकारले सडकमा जुलुस निकालेर हामी नै लोकप्रिय छौँ, लोकतान्त्रिक छौँ र संवैधानिक छौ भन्दै डंका पिटिरहेको हेर्दा आश्चर्य लागेर आउँछ ।’द नेपालटप

फेसबुकबाट तपाईको प्रतिक्रिया