हतियार सहित नौ जना पक्राउ – Nagarikabhiyan : National News

हतियार सहित नौ जना पक्राउ

नेपालगन्ज  ।  बाँके राष्ट्रिय निकुञ्जमा अवैध रुपमा हतियारसहित प्रवेश गरेको आरोपमा नौ जना पक्राउ परेका छन् ।

बिहीबार बिहान ३ देखि ७ बजेका बीचमा बाँके राष्ट्रिय निकुञ्ज प्रशासन र सुरक्षार्थ खटिएको नेपाली सेना, श्री श्रीमेहर गणले संयुक्तरुपमा अपरेसन खैरीकोट सञ्चालन गरी निकुञ्जमा हतियारसहित प्रवेश गर्ने नौ जनालाई सात थान हतियारसहित नियन्त्रणमा लिन सफल भएको निकुञ्जका सूचना अधिकारी महेश न्यौपानेले बताए ।

निकुञ्जमा सञ्चालित अपरेसन महाहन्ट खैरीकोट अन्तर्गत निकुञ्ज प्रवेश गर्ने व्यक्तिहरुको त्यसअघि नै पहिचान गरी सकिएको थियो । निकुञ्जमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले सबैलाई सल्यान कालिमाटी गाउँपालिका २ र ३ बाट नियन्त्रणमा लिएको बताए ।

‘हामीले उनीहरुको लामो मुभमेन्टलाई वाच गरिरहेका थियाैं,’ संरक्षण अधिकृत शाहले भने, ‘त्यसैका आधारमा उनीहरुलाई पक्राउ गर्न सफल भयाैं ।’

यसैबीच इलाका प्रहरी कार्यालय कोहलपुरले सिम्रीबाट एक थान भरुवा बन्दुक बरामद गरेको छ । कोहलपुर नगरपालिका– १३ सिम्री गाउँ नजिकै जंगल छेउमा रहेको उक्त ओढारमा लुकाइछिपाइ राखिएको भरुवा बन्दुक बरामद गरिएको हो ।

कोहलपुर प्रहरीले १५ दिने ‘स्वीप अपरेसन’ अभियान सञ्चालनको सुरुआती चरणमै भरुवा बन्दुक बरामद गर्न सफल भएको प्रहरीले जनाएको छ ।कान्तिपुर