प्रदीप ज्ञवालीसँग निर्वाचन आयोगको एकल वार्ता, के हो कुरो ?
२१ माघ २०७७, बुधबार २०:०४
काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभामा निर्वाचन पर्यवेक्षण व्यवस्थापनलगायतका विषयमा प्रदीपकुमार ज्ञवालीसँग परामर्श गरेको छ ।
उनीसँग निर्वाचन पर्यवेक्षण गर्न कूटनीतिक नियोग, अन्तरराष्ट्रिय पर्यवेक्षक संस्थालाई अनुरोध गर्ने तथा त्यस्ता नियोग र संस्थाबाट समग्र निर्वाचन कार्यसहित मतदानको दिनकोसमेत पर्यवेक्षण गराउन आवश्यक समन्वय गर्नेलगायतका विषयमा छलफल भएको आयोगका प्रवक्ता राजकुुमार श्रेष्ठले जानकारी दिए ।
निर्वाचन आयोग ऐनमा कुनै स्वदेशी वा विदेशी व्यक्ति वा संस्थालाई निर्वाचनसँग सम्बन्धित काम कारवाहीको पर्यवेक्षण गर्नका लागि आयोगले अनुमति दिनसक्ने व्यवस्था छ । सरकारले आगामी वैशाख १७ र २७ गते दुुई चरणमा निर्वाचन गर्नेगरी डेढ महिनाअघि नै मतदानका लागि मिति घोषणा गरिसकेको छ ।
सो अवसरमा मन्त्री ज्ञवालीले निर्वाचन पर्यवेक्षणमा आउने सार्क राष्ट्रसहित अन्य राष्ट्र र अन्तरराष्ट्रिय सङ्घसंस्थाका पर्यवेक्षकसँग सम्पर्क अधिकृतका रुपमा खटिने परराष्ट्र सेवाका कर्मचारी खटनपटन, समन्वय र सहयोग हुने प्रतिबद्धता जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया