निर्वाचन आयोगसमक्ष प्रचण्ड-नेपालद्वारा पुनः पार्टी आधिकारिकता दावी पेश – Nagarikabhiyan : National News

निर्वाचन आयोगसमक्ष प्रचण्ड-नेपालद्वारा पुनः पार्टी आधिकारिकता दावी पेश

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोग समक्ष पुनः पार्टीको आधिकारिता दावी गरेको छ ।

मंगलबार अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लगायतका नेता निर्वाचन आयोग पुगेर दावी पार्टीको आधिकारिताको दावी प्रस्तुत गरेका हुन् ।

पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्ष तथा पार्टी सदस्यबाट हटाइएको र महासचिव विष्णु पौडेललाई जिम्मेवारीमुक्त गरेको विषय जानकारी गराइएको नेता लीलामणी पोखरेलले जानकारी दिए ।

केन्द्रीय सदस्यहरुको बहुमत आफ्नो पक्षमा रहेको दावी सहित पार्टीको आधिकारिकता प्रस्तुत गरिएको नेता राजेन्द्र पाण्डेले बताए । आज बुझाइएको आधिकारिकताको दावीमा २७५ जना सदस्यको हस्ताक्षर छ ।

प्रचण्ड–नेपाल समूहले ४४१ सदस्यमध्ये ६४ प्रतिशत केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको दावी गर्दै आएको छ । कतिपय केन्द्रीय सदस्यहरु काठमाडौं बाहिर रहेकाले काठमाडौंमा उपलव्धहरुको हस्ताक्षर गरिएको नेता पाण्डेले जानकारी दिए ।

सोमबार बसेको केन्द्रीय समिति बैठकले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा औपचारिक रुपमा पत्र बुझाउने निर्णय गरेको थियो ।

निर्वाचन आयोगले आधिकारिकता दाबीका लागि दुवै समूह प्रक्रियागत रूपमा नआएको बताउँदै आएका बेला प्रचण्ड–नेपाल समूह आयोग पुगेका हुन् ।

आयोगमा अध्यक्षद्वय प्रचण्ड र नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, स्थायी कमिटी सदस्यहरु भीम रावल, वर्षमान पुन, घनश्याम भुसाललगायतका नेताहरु आयोग पुगेका थिए ।

गत पुस ५ गते प्रतिनिधिसभा विघटनपछि सत्तारुढ दल नेकपा दुई समूहमा विभाजित भएको छ ।नागरिकखबर