मित्रराष्ट्र होस् त भारत जस्तो, सम्पूर्ण नेपाली मनाए खुसीयाली !
१४ माघ २०७७, बुधबार २०:४७
काठमाडौं । विश्वव्यापी माहामारीका बेला आफ्नै देशमा समेत खोप अपुग भइरहेकाबेला मित्र राष्ट्रलाई निशुल्क खोप दिएको भारतले सम्पूर्ण नेपालीलाई खुसी बनाएको छ ।
भारत सरकारले निःशुल्क उपलब्ध गराएपछि नेपाल खोप अभियान भएको पहिलो एकैदिनमा बुधवार (आज) ९ हजार ८४ जनाले खोप लगाएका छन् ।
देशभरका ६४ जिल्लाका ९३ खोप केन्द्रमार्फत ९ हजार ८४ जना व्यक्तिले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् ।
खोप अभियानको पहिलो दिन नै स्वास्थ्यकर्मीको उत्साहजनक संलग्नता रहेको मन्त्रालयले जनाएको छ । बुधवार खोप प्राप्त गर्नेमा १ नम्बर प्रदेशका १ हजार २५५, २ नम्बर प्रदेशका ७२६, बागमतीका २ हजार ६९४, गण्डकीका १ हजार ८४३, लुम्बिनीका ७३३, कर्णालीका ७५१ र सुदूरपश्चिम प्रदेशका १ हजार ८२ जना रहेका मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. गौतमले खोप अभियानको शुभारम्भ सफलतापूर्वक सञ्चालन भई खोप लगाएका व्यक्तिमा हालसम्म कुनै पनि स्वास्थ्य समस्या नदेखिएको बताए । मन्त्रालयले अभियानको पहिलो दिनमै खोप लगाउने व्यक्ति तथा सेवा प्रदायकको स्वस्फूर्त र उल्लेख्य सहभागिता भएको जानकारी दिएको छ ।
अभियानको शुभारम्भपछि प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकाका विभिन्न अस्पतालहरुमा खोप कार्यक्रमको स्थलगत अनुमगन समेत गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया