बागमतीका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव आज प्रदेशसभामा पेश हुँदै – Nagarikabhiyan : National News

बागमतीका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव आज प्रदेशसभामा पेश हुँदै

काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव आज प्रदेशसभा बैठकमा औपचारिक रुपमा प्रस्तुत हुने भएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको प्रदेश सभा बैठकमा मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव टेवल हुने नेकपा प्रचण्ड–माधव समूहको तयारी छ ।

यसअघि सभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा दलका नेताहरुले बोलेपछि सभामुख सानुकुमार श्रेष्ठले बैठक अनिश्चितकालका लागि स्थगित गरेका थिए । उक्त बैठकमा अविश्वासको प्रस्ताव टेबल हुन पाएको थिएन । पौडेललाई मुख्यमन्त्रीबाट हटाउन प्रचण्ड माधव पक्षधर ४५ सांसदले अविश्वास प्रस्ताव पेश गरेका छन् । ११० सदस्यीय प्रदेशसभामा सभामुखसहित नेकपाका ८० सांसद छन् ।

नेकपाको प्रचण्ड–माधव पक्षले मुख्यमन्त्री पौडेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गर्दै मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई अगाडि सारेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी नेकपामा ओली र प्रचण्ड–माधव पक्ष गरी विभावित भएको छ । जसको असर ६ वटा प्रदेश सभामा प्रत्यक्ष देखिँदै आएको छ ।