जसपा निर्वाचनबाट भाग्दैन, सहभागी हुन तयार छ
६ माघ २०७७, मंगलवार १२:२४
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय निर्वाचन आयोगका प्रमुख तथा केन्द्रीय कार्यकारिणी सदस्य अनिलकुमार झाले आउँदो बैशाखमा निर्वाचन हुने सुनिश्चिता भए जसपा निर्वाचनमा सहभागी हुन तयार रहेको बताएका छन् । उनले जसपालाई निर्वाचनमा सहभागी हुन कुनै आपत्ति नरहेको स्पष्ट गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हठात् रुपमा गरेको प्रतिनिधि सभा विघटन संविधानविपरीत रहेको आरोप लगाउँदै नेता झाले प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध जसपा नै सबैभन्दा पहिले आन्दोलित भएको बताए । विघटनविरुद्ध सर्वाेच्च अदालतमा दायर रिट निवेदन विचाराधीन रहेको अवस्थामा सर्वाेच्च अदालतबाट आउने फैसला जसपालाई मान्य हुने उनले बताए ।
‘प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा अहिले सर्वाेच्चमा विचाराधीन छ, न्यायालयले संसद विघटनलाई निर्वाचनमा जाने फैसला गरे हामी त्यसलाई स्वागत गरेर निर्वाचनमा जान्छौ, होइन यदि संसद पुनर्स्थापनाको निर्णय भएमा हामी त्यसलाई पनि स्वीकार गरेर अघि बढछौ’, झाले भने–‘जसपा लोकतन्त्र, संघीय गणतन्त्र, संसदीय सर्वाेच्चता, न्यायिक सर्वाेच्चता र जनमतलाई मान्ने पार्टी हो, त्यसका कारण यी सबैका लागि आवश्यक जननिर्वाचनबाट जसपा भाग्ने अवस्था छैन ।’
‘जनमतमा विश्वास गर्ने पार्टी हो जसपा, त्यसैले जनमत लिने विषयबाट हामी भाग्दैनौ, भाग्न मिल्दैन’, विघटित प्रतिनिधि सभाका सदस्य झाले भने–‘जनमत नै जसपाको पुँजी हो, यो पुँजीलाई हामीले सही सदुपयोग गर्नुपर्छ ।’
एक प्रश्नको जवाफमा उनले संविधानका केही धारा र प्रावधानप्रति जसपाको आपत्ति र असहमति कायमै रहेको बताए । ‘वर्तमान संविधान जारी भएदेखि नै हाम्रो असन्तुष्टि र असहमति छ, समुच्चै संविधानप्रति होइन, संविधानमा राखिएका समावेशी र समानुपातिक सिद्धान्तविपरीतका केही प्रावधानप्रति हाम्रो विरोध छ’, नेता झाले भने–‘संविधानका ती प्रावधानहरुलाई संशोधन गर्नुपर्छ भन्ने हाम्रो माग र अडान हो, त्यो यथावत छ ।द नेपालटपबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया