कोरोनाको कहरबिच खुशीको खबर : विराटनगरमा उपचाररत ६ जना संक्रमण मुक्त – Nagarikabhiyan : National News

कोरोनाको कहरबिच खुशीको खबर : विराटनगरमा उपचाररत ६ जना संक्रमण मुक्त

विराटनगर । कोरोना भाइरसको संक्रमण भएपछि विराटनगर स्थित कोभिड १९ उपचार केन्द«मा उपचार गराइरहेका ६ जना भारतीय नागरिक संक्रमण मुक्त भइ आज डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको तीनवटा परीक्षणमा संक्रमण नेगेटिभ देखिएपछि संक्रमित ६ जनालाई बुधबार डिस्चार्ज गरिएको हो । डिस्चार्ज भएका सबैलाई प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले ससम्मान विदाइ गरे ।
डिस्चार्ज भएकाहरुलाई केही दिन थप निगरानी गर्न विराटनगर १४ स्थित रानी मर्कजमा राखिने कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेन्डेन्ट डाक्टर संगीता मिश्रले बताइन ।

कोरोना उपचार केन्द«मा उपचाररत  मध्ये निको भई घरफर्कनेहरुमा ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद राशिद रहेका छन् ।

उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका भारतीय जमातीमध्ये ५ र ६ वैशाखमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुमध्ये ६ जना निको भएर डिस्चार्ज भएका हुन् । उनीहरुलाई फूलका गुच्छा दिएर विदाई गरिएको छ ।

विराटनगरको कोरोना विशेष अस्पतालमा ३१ जना उपचाररत रहेका थिए भने अब मात्र २५ जना उपचार गराइरहेका छन् ।