उपप्रधानमन्त्री ईश्वर पोखरेललाई जनताको चिन्ता लाग्यो !
२५ पुष २०७७, शनिबार १९:४९
बागमती। उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनताको भावना कुण्ठित भएकोमा चिन्तित रहेको बताएका छन् । त्यस्तै उनले विभाजित ओलीपक्षले नै सुर्य चिन्ह पाउँने घोषणा गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय सदस्यसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले आज नेकपा मकवानपुरको जिल्ला भेलालाई सम्बोधन गर्दै नेकपाभित्रको प्रचण्ड–माधव समूहले जनभावनालाई बेवास्ता गरेको आरोप लगाए ।
उनले जनताको पाँच वर्षका लागि केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने चाहनालाई अर्को पक्षबाट सम्मान नगरिएको दाबी गरे ।
“नेकपा अध्यक्ष प्रचण्डको अन्तरविरोध सिर्जना गर्दै जाने र अर्का नेता माधव नेपालको पदबाहेक बस्नै नसक्ने कुण्ठाको कारण नेकपाभित्र विवाद सिर्जना भएको हो”, उनले भने, “कुर्सीको आकार हेर्ने, घनचक्कर पैदा गर्ने, इष्र्या र डाह बोक्नेले महाधिवेशनबाट अध्यक्ष र निर्वाचनबाट प्रधानमन्त्री बन्नुभएका केपी शर्मा ओलीको हाइहाइ र लोकप्रियताबाट कुण्ठित भएर आफ्नै दलका प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने, राष्ट्रपतिलाई महाअभियोग लगाउने खेल खेलेका कारण प्रधानमन्त्रीले संसद् विघटन गर्नुपरेको हो”, पोखरेलको भनाइ थियो ।
कार्यक्रममा नेकपा वाग्मती प्रदेश सहईन्चार्ज तथा केन्द्रीय सदस्य काशीनाथ अधिकारीले केपी शर्मा ओलीको नेतृत्वमा रहेको पार्टी नै आधिकारिक नेकपा भएको र यसै नेकपाले चुनाव चिह्न सूर्य प्राप्त गर्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया