प्रचण्ड आज स्वदेश फर्कंदै
२५ पुष २०७७, शनिबार ११:५५
काठमाडौं । पत्नी सीता दाहालको उपचारका लागि सोमबार भारत गएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कंदै छन् । प्रचण्डको सचिवालयका अनुसार आज दिउँसो नेपाल वायुसेवा निगमको दिल्ली–काठमाडौं उडानबाट उनी स्वदेश फर्कन लागेका हुन् ।
दाहालको अहिले मुम्बईकै न्यूरोजेन ब्रेन एण्ड स्पाइन इन्स्टिच्युटमा उपचार भइरहेको र स्वास्थ्यमा केही सुधार आएको प्रचण्डको सचिवालयले जनाएको छ ।
यसअघि उपचारका लागि प्रचण्डले २०७५ साउनमा सिंगापुरस्थित एमटी एलिजावेथ अस्पताल लगेका थिए । त्यस अस्पतालले सीतालाई लागेको रोग प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) भएको पुष्टि गरेको थियो ।
त्यसपछि बिभिन्न अस्पतालमा उपचार गराउँदै आए पनि उनको स्वास्थ्यमा सुधार भएको छैन । २०७५ चैत ३ गते अमेरिकाको जोन हकिन्स अस्पताल लगेर पनि उपचार गराइएको थियो ।
यस्तै २०७६ साउनमा यूएईस्थित एक अस्पताल र पुसमा भारतको हरिद्वारमा रहेको पतञ्जली योगपिठमा लगेर आयुर्वेदिक विधिबाट पनि सीताको उपचार गरिएको थियो ।
प्रचण्ड पत्नी सीता ०७४ को दसैँअघि पहिलोपल्ट गम्भीर बिरामी परेकी थिइन् । सोही वर्षको मंसिर ३ गते उनका छोरा प्रकाशको निधनपछि गम्भीर बिरामी भएकी हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया