संसद विघटनविरुद्धको मुद्दामा अर्को सुनुवाई पुस २९ गते
२२ पुष २०७७, बुधबार १६:१७
काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा अर्को सुनुवाई पुस २९ गते हुने भएको छ। सर्वोच्चको संवैधानिक इजलासमा पुस २२ गते भएको सुनुवाइ पूरा नभएपछि पछि अर्को सुनुवाई २९ गतेका लागि तोकिएको हो।
पुस २९ मा हुने सुनुवाइका लागि नयाँ संवैधानिक इजलास गठनसमेत हुने भएको छ। न्यायाधीध हरिकृष्ण कार्कीले संवैधानिक इजलासबाट बाहिरिएको घोषणा गरेपछि नयाँ संवैधानिक इजलास गठन हुने भएको हो।
सर्वोच्चको संवैधानिक इजलासमा भएको बहसका क्रममा न्यायाधीश कार्कीमाथि वरिष्ठ अधिवक्ताहरू दिने त्रिपाठी र शम्भु थापाले प्रश्न उठाएपछि कार्कीले संवैधानिक इजलासबाट अलग गराएको घोषणा गरेका हुन्।
यसअघि पुस १० गते गठन भएको संवैधानिक इजलासले नै बुधबार पनि प्रतिनिधिसभा विघटनका मुद्दामा सुनुवाइ गरेको थियो। १० गते इजलास गठन हुँदा नै विवाद भएको थियो। इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल सिन्हा र तेजबहादुर केसी थिए।
प्रधानन्यायाधीशसहित उनले तोकेका थप ४ जना संवैधानिक इजलास गठन हुने व्यवस्था छ। प्रतिनिधिसभा विघटनका मुद्दा संवैधानिक इजलासबाट बृहत् पूर्ण इजलासमा पठाउनुपर्ने माग समेत उठ्दै आएको छ।
यसअघि सर्वोच्चले पुस २२ बाट निरन्तर सुनुवाइ गर्ने गरी यो मुद्दालाई अग्राधिकारमा राखेको बताएको थियो। तर इजलास नै नयाँ गठन गर्नुपर्ने भएकाले यसपटक निरन्तर सुनुवाइ नहुने भएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया