प्रतिनिधि सभा विघटन विरूद्धको मुद्दामा आजदेखि सर्वोच्चमा निरन्तर सुनवाई
२२ पुष २०७७, बुधबार ०९:२३
काठमाडौं । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दामा सर्वोच्च अदालतले आजदेखि निरन्तर सुनवाई गर्ने भएको छ ।
प्रतिनिधि सभा विघटनविरूद्ध परेका दर्जन बढी मुद्दाहरूलाई सर्वोच्चले यसअघि नै संवैधानिक इजलासमा पठाएको थियो ।
पुस १० गते प्रधानन्यायाधीश चोलेन्द्रशमेशेर राणासहितको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र राष्ट्रपति कार्यालयलाई लिखित जवाफ दिन आदेश दिएको थियो । सो आदेशअनुसार दुबै कार्यालयले पुस १९ गते सर्वोच्चमा जवाफ पठाइसकेका छन् ।
उक्त इजलासले यो मुद्दामा राय दिन एमिकस क्युरी समेत गठन गर्ने भनिएको छ । नेपाल बार एसोसियसन र सर्वोच्च बारले पाँच जना एमिकस क्युरी पनि छानिसकेका छन् । यसअघि प्रधानन्यायाधीश राणाले गठन गरेको संवैधानिक इजलासमा कानूनविदहरूले प्रश्न उठाएका थिए ।
पुस १० को इजलासमा राणासहित न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी थिए । यीमध्ये केही न्यायाधीशहरू संवैधानिक भन्दा पनि अरू मुद्दामा अनुभवी भएको भन्दै प्रश्न उठेको थियो । प्रधानन्यायाधीश राणाले आज पनि तिनै न्यायाधीशलाई राखेर सुनवाई गर्छन् कि इजलासमा फेरबदल गर्छन् भन्नेमा आम चासो छ ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ मा प्रतिनिधिसभा विघट गरेपछि यसको चर्को आलोचना भइरहेको छ भने सर्वोच्चमा दर्जन बढी मुद्धा परेका छन् । यसरी प्रतिनिधि सभा विघटन गर्न पाउने व्यवस्था नै संविधानमा नभएको भन्दै प्रमुख राजनीतिक दलहरूले यसको विरोधमा चरणवद्ध आन्दोलन गरिरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया