मरिक परिवारले पाएनन् राहत, एक छाक मागेर एकछाक भौकै बसेको मरिकको गुनासो – Nagarikabhiyan : National News

मरिक परिवारले पाएनन् राहत, एक छाक मागेर एकछाक भौकै बसेको मरिकको गुनासो

इनरुवा ।  सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका वडा नम्बर २ का एक मरिक परिवारले राहत पाउनबाट बन्चित भएको गुनासो गर्नुभएको छ । नगरपालिका भित्रका १० वटै वडाका गरि ८ हजार बढी परिवारलाई राहत वितरण गरेको दावी गरेपनि शंकरपुर शाखा नहरको एलानी जग्गामा घर भएको सुकुम्बासी समेत रहेका राम मरिकले राहत पाउन नसकेको गुनासो गर्नुभयो ।

मरिकले लकडाउनको ४१ दिन वित्दा समेत कोही सबैले राहत नदिएको बताउनुभयो । मरिकले दुईसता अघि नै आफ्नो परिवारको विवरण भरेर लगेको र नागरिकताको प्रमाण पत्रको प्रतिलिपि समेत लगेकोमा हालसम्म वडा कार्यालय र नगरपालिकाले कुनै राहत नदिएको गुनासो पोख्नुभयो ।

आफू सिमान्तकृत दलित समुदायको भएको र कडा शव्दमा बोल्न नसक्ने भएकाले राहतमा उपेक्षा गरि विभेद गरेको सुनाउनुभयो । मरिकले छिमेकी दुई परिबारले पत्रकारलाई भने पनि बल्ल चार दिन अघि राहत पाएको र आफूले पत्रकारलाई गुनासो नभनेको र वडा कार्यालय मात्रै धाएकाले राहत नपाएको बताउनुभयो । वहाँले राहत आजभोली आउछ भन्दै टार्ने काम मात्रै गरेको गुनासो सुनाउनुभयो ।

वहाँले आफू, पत्नी र चार छोराछोरी सहित ६ परिवार भएकाले सबै घर परिवार चलाउन समस्या भएको बताउनुभयो । मरिकले भोटका बेला नगरपालिकाका प्रमुखदेखी वडा अध्यक्षसम्म पटक पटक घरमा आएको तर लकडाउनका कारणले बाँस नपाएको र बनाएको सामग्री हाटमा विक्रि गर्न नपाएको कारणले भोकै बस्नुपरेको बेला कोही नआएको समेत गुनासो सुनाउनुभयो ।

इनरुवा २ का वडा अध्यक्ष सुरेन्द्र यादवले राहत सबैले पाएको दावी गर्नुहुदै नपाएका वा छुटेकाहरुलाई वितरण गर्ने प्रतिकृया दिनुभयो । इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहताले राहतको वितरणको काम वडाहरुले गरिरहेको बताउनुभयो ।