सुदूरपश्चिम प्रदेशमा ओली समूहका २ नेतालाई कारबाही – Nagarikabhiyan : National News

सुदूरपश्चिम प्रदेशमा ओली समूहका २ नेतालाई कारबाही

धनगढी । नेकपा सुदूरपश्चिम प्रदेश समितिले २ जना नेतालाई नैतिक आचरण विपरित कार्य गरेको भन्दै कारबाही गरेको छ ।

आफूहरुको समूह नै आधिकारिक रहेको दाबी गर्दै आएको प्रचण्ड–नेपाल खेमा अन्तरगतको सो समितिले नैतिक आचरण विपरित कार्य गरेको भन्दै २ जनालाई ६ महिनाको लागि पद मुक्त गर्ने निर्णय गरेको हो ।

आज धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रदेश सांसदसमेत रहेका नेकपा कैलालीका अध्यक्ष रतनबहादुर थापा र सुदूरपश्चिम प्रदेश कमिटीका सदस्य रहेका कञ्चनपुरका महेश पन्तलाई नेकपा सुदूरपश्चिम प्रदेश इन्चार्जसमेत रहेका नेता भीम रावलले निलम्बन गरेका हुन् ।

हिजो बसेको नेकपा सुदूरपश्चिम प्रदेश समितिको चौथो बैठकको निर्णयलाई सार्वजनिक गर्दै नेता रावलले भने,“कैलाली जिल्लाको अध्यक्षको पदमा रहनु भएका रतनबहादुर थापाले पार्टी एकता र हितबिरुद्ध गतिविधि गर्नु भएकाले उहाँलाई नेकपाको अन्तरिम विधान २०७५ धारा ७६ को (क) को १,२,३,४,५ र १४ बमोजिम अध्यक्ष पदबाट हटाउन कैलाली जिल्ला कमिटीले सिफारिस गरेकोले उहाँलाई पदबाट मुक्त गराउन केन्द्रमा सिफारिस गर्ने निर्णय प्रदेश कमिटीले गरेको छ ।” नेता रावलले थापालाई नैतिक आचारण सम्बन्धी समेत कारवाही गरिएको बताए ।

उनले थपे, “उहाँको नैतिक आचारण सम्बन्धी उजुरी प्राप्त भएको थियो । त्यसमा अध्ययन समेत गरेका थियौ । बीचमा प्रदेश कमिटीको बैठक बसेका थिएन् । अहिले बैठक बसेकाले उहाँलाई पार्टी विधानको धारा ५६ को ‘क’ को बुँदा नम्बर १० बमोजिम प्रदेश कमिटीको बैठकले पदमुक्त गरेको छ र उहाँमाथि अनुशासनको कारवाही स्वरुप थप पार्टी सदस्यताबाट ६ महिनाका लागि निलम्बन गरिएको छ ।” कैलाली जिल्ला अध्यक्षको पद रिक्त भएको छ । पूर्व एमालेका अध्यक्ष तथा प्रदेश सभा सदस्य दीर्घ सोडारीको कारबाही फुकुवा गरिएको समेत नेता रावलले खुलाए ।

केन्द्रीय समितिले जिल्ला अध्यक्षको जिम्मासमेत सोडारीलाई दिएको तर पद वहाली नभएको बताउँदै अध्यक्षका लागि केही काम बाँकी रहेको रावलको भनाइ छ ।