प्रचण्ड-नेपाल समूहको खुल्यो पोल : बाहिर ओलीको विरोध, भित्रभित्रै यस्तो तयारी! – Nagarikabhiyan : National News

प्रचण्ड-नेपाल समूहको खुल्यो पोल : बाहिर ओलीको विरोध, भित्रभित्रै यस्तो तयारी!

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अहिले दुई समूहमा विभाजन भएको छ । औपचारिक विभाजन बाँकी नै छ । खासगरी प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि नेकपा विभाजनउन्मुख बनेको हो ।

ओलीको कदमपछि टाढा हुँदै गएको प्रचण्ड र नेपाल समूहले आफू नै बहुमतसहित आधिकारिक भएको दाबी गरेको छ भने संसद विघटनविरुद्ध आन्दोलनको घोषणा गरेको छ । बाहिर हेर्दा प्रचण्ड माधव समूह संसद नै पुनर्स्थापना गरौला जस्तो गरी विरोधमा उत्रिएको छ । तर भित्रभित्रै भने यो समूह पनि चुनावी तयारीमा लागेको गतिविधिले देखाएको छ ।

नेपाली कांग्रेसभित्र संस्थापन पक्ष पनि चुनावको पक्षमा देखिएको छ । संस्थापन नेता एनपी साउदले सोमवार आयोजित विरोधसभामा ओलीमात्रै नभई प्रचण्ड नेपाल समूह पनि चुनावी तयारी लागिसकेको भन्दै कांग्रेस अल्मलिन नहुनेमा जोड दिए । प्रचण्ड नेपाल चुनावी तयारीमा लागेको कुरा कांग्रेस नेताहरुलाई पनि जानकारी भइसक्यो । तर बाहिर देखाउनलाई उनीहरु आन्दोलन भनिरहेका छन् ।

‘नेकपाको दुइटै समूह पनि लागिसकेको छ। तयारीका लागि ओली समूहले यही जिल्लामा १५ जनालाई केन्द्रीय सदस्य बनाएको छ । ओली पनि तयारीमा छन्,’ उनले भने, ‘प्रचण्ड र माधवको तयारी पनि छ । ७७ वटै जिल्ला र १६५ निर्वाचन क्षेत्रमा कार्यक्रम गर्छौं भनेका छन् । निर्वाचन क्षेत्रमा कार्यक्रम गर्नु भनेको निर्वाचनको तयारी नभएर के होरु उनीहरु पनि त्यो बाटोमा तयारी गर्दैछन् । त्यसकारण नेपाली कांग्रेसका नेता कार्यकर्ता अल्मिलिने, बरालिने होइन। जनताको बीचमा जानुपर्ने बेला आएको छ ।’

साउदले भनेजस्तै प्रचण्ड नेपाल समूहको तल्लो तहसम्म चुनाव लक्षित तयारी सुरु भइसकेको छ । भेला प्रशिक्षणका कार्यक्रम बढाएका छन् ।  यसले चुनावी माहोल सिर्जना हुँदै गएको देखिन्छ ।