२१ दिनभित्र उखु किसानको बक्यौता भुक्तानी गर्ने सहमति, आन्दोलन स्थगित – Nagarikabhiyan : National News

२१ दिनभित्र उखु किसानको बक्यौता भुक्तानी गर्ने सहमति, आन्दोलन स्थगित

काठमाडौं । आन्दोलनरत उखु किसान र सरकारबीच चार बुँदे सम्झौता भएको छ । उखु किसान र सरकारबीच सोमबार भएको वार्तामा उक्त सम्झौता भएको हो । साथै उखु किसानका बक्यौता रकम २१ दिनभित्र दिलाउन उद्योग मन्त्रालयले पहल गर्ने र त्यो अवधिमा भुक्तानी नगरेका उद्योगीलाई कानुन अनुसार कारवाही गर्ने सम्झौतामा उल्लेख गरिएको छ । यो सम्झौतासँगै उखु किसानले आन्दोलन स्थगित गरेका छन् ।

त्यसैगरी उखु किसानको माग र अन्य विरोधाभास विषयमा अध्ययन गर्नका लागि १० सदस्यीय एक प्राविधिक समिति गठन गरेको छ । सो समितिले १२० दिनभित्र आफ्नो प्रतिवेदन उद्योग मन्त्रालयलाई बुझाउने भनिएको छ । सो समितिमा उद्योग मन्त्रालय, गृहमन्त्रालय, कृषि मन्त्राय, किसान, उद्योगीका प्रतिनिधि रहनेछन् ।

त्यस्तै सरकारले चिनी उद्योगीको जग्गा जमिन, सेयर, ट्राभलगायतका कार्यलाई रोक्का गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु किसानको बक्यौता रकम भुक्तानी नदिने उद्योगीको सम्पूर्ण जग्गा जमिनको कारोवार रोक्का गर्ने, भुक्तानी नदिएसम्म देश बाहिर जान नपाउने, उनीहरुले गरेका सेयर लगानीहरु पनि चलाउन नपाउने गरि रोक्का गर्न गृहमन्त्रालयलगायत अन्य सरोकारवालाहरुलाई पत्र पठाएको हो । रातोपाटीबाट