काँग्रेसले पुस १३ गते देशैभर प्रदर्शन गर्ने – Nagarikabhiyan : National News

काँग्रेसले पुस १३ गते देशैभर प्रदर्शन गर्ने

काठमाडौं । नेपाली काँग्रेसले सरकारविरुद्ध देशैभर आन्दोलन गर्ने निर्णय गरेको छ । बिहीबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको काँग्रेस केन्द्रीय कार्य समिति बैठकले पुस १३ गते देशभरका एकसय ६५ निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको हो । संघीय निर्वाचन क्षेत्रहरूमा विरोध प्रदर्शन गर्ने निर्णय भएको काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले गत आइतबार प्रतिनिधिसभा विघटन गरेका थिए । उक्त कदमलाई काँग्रेसले असंवैधानिक भनेको छ । त्यस्तै बिहीबार नै काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको केन्द्रीय सदस्य भेलाले सरकारविरूद्ध आन्दोलनमा जाने निष्कर्ष निकालेको छ ।

अनामनगरमा बसेको बैठकले तय भएको कार्यक्रमलाई कार्यसमिति बैठकमा छलफलका लागि पेश गर्ने एक केन्द्रीय सदस्यले जानकारी दिए । बैठकले तीन दिने आन्दोलनको मोडालिटी तयार पारेको छ । पार्टीको पुस १३ गते शुरु हुने आन्दोलनमा भ्रातृ संगठनहरूलाई सक्रिय रूपमा परिचालन गर्नेदेखि देशभर शक्ति प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ । पौडेल समूहको उक्त बैठकमा सिटौला समूहका नेताहरू गगन थापा र प्रदीप पौडेलको पनि उपस्थिति रहेको थियो । द नेपालटपबाट