ओलीको स्वेच्छाचारी कदमले पार्टी एकतालाई असर पर्दैनः प्रचण्ड – Nagarikabhiyan : National News

ओलीको स्वेच्छाचारी कदमले पार्टी एकतालाई असर पर्दैनः प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई पश्चगामी र स्वेच्छाचारी भन्दै त्यसले पार्टी एकतामा कुनै असर नपर्ने बताएका छन्।

सोमबार विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वहरूका विरूद्ध एकताबद्ध भएर उभिन आम नेता तथा कार्यकर्तालाई अपील गरेका छन्।

‘हाम्रो पार्टी एकताबद्ध छ र कुनै व्यक्तिको पार्टी, जनता र राष्ट्रविरोधी यसप्रकारका कार्यले हाम्रो पार्टी एकतालाई कुनै तात्विक असर पर्ने छैन ’ दाहालले विज्ञप्तिमा भनेका छन्, ‘प्रधानमन्त्री ओलीले चालेको कदम, प्रतिनिधिसभा विघटनको असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, पश्चगामी एवम् स्वेच्छाचारी कदमलाई हिजो बसेको स्थायी कमिटीको बैठकले विरोध एवम् भर्त्सना गर्दै पूर्ण रूपमा अस्वीकार गर्ने र पार्टी अध्यक्ष कमरेड ओलीलाई अनुशासनको कारबाहीका निम्ति स्पष्टिकरण माग्ने निर्णय गरेको विषय सार्वजनिक भइसकेको छ।’

‘नेपाली जनताको ठूलो त्याग र बलिदानपूर्ण संघर्षको परिणाम स्वरुप प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रसहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु आजको ऐतिहासिक कार्यभार हो,’ विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रको समृद्धि र नेपाली कम्युनिष्ट आन्दोलनको भविष्यका निम्ति पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृति र तत्वहरूका विरूद्ध एकतावद्ध भएर उभिन तथा कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन सक्ने छैन र त्यसप्रकारको कुनै भ्रमात्मक प्रचारमा नपर्न पनि म सबैलाई अपील गर्दछु। द नेपालटपबाट