घुर ताप्न बालेको आगोले घर जल्दा १४ वर्षीय बालकको जलेर मृत्यु, तीनजना घाइते
५ पुष २०७७, आईतवार १२:२१
विराटनगर । विराटनगरको एक घरमा आगलागी हुँदा १४ वर्षीय बालकको जलेर मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
शनिबार राति करिब साढे १२ बजे विराटनगर महानगरपालिका– १४ झटीयाहीका राजेशकुमार दास तत्माको घुरको आगोले घर जल्दा उनका १४ वर्षीय छोराको जलेर मृत्यु भएको हो । उनकी श्रीमती ३२ वर्षीया इन्दुदेवी, ७ वर्षीय छोरा किसनकुमार र राजेशकुमार दाससमते सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए ।
प्रहरी निरिक्षक थापाका अनुसार चिसोमा घुर ताप्न बालिएको आगो मध्यरातमा घरमा सल्किएको थियो । सुतिरहेको अवस्थामा घरमा फैलिएको आगोमा परी बालकको मृत्यु भएको उनले बताए । ‘राति ताप्न बालेको घुर ननिभाई सुतेका कारण घरमा सल्किएको देखिन्छ ।’ उनले भने ‘सुतेकै क्रममा १४ वर्षीय बालक रविनको मृत्यु भयो ।
’घाइते आमा–छोरा दुवैको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ । आगलागीमा चारलाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया