महिलामा क्षमता नै हुँदैन भन्नेलाई व्यवहारबाट देखाउनुपर्छ : मन्त्री अर्याल
४ पुष २०७७, शनिबार १९:४६
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले महिलाहरुमा क्षमता नै हुँदैन भन्नेलाई व्यवहारबाट कार्यान्वयन गरेर देखाउनुपर्ने बताएकी छिन् ।
क्रियाशिल तथा अग्रज पत्रकार महिलाहरुकासँगको छलफलमा मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् । सकारात्मक आलोचनाका लागि सधैं तयार हुनुपर्ने मन्त्री अर्यालको भनाइ छ ।
सकारात्मक आलोचनाले मान्छेलाई सच्याउन मद्दत गर्ने उनले बताइन् । उनले भनिन,‘महिलाहरुमा क्षमता नै छैन भन्नेहरुलाई जिम्मेवारीमा रहेका महिलाहरुले व्यवहारबाट कार्यान्वयन गरेर देखानुपर्छ, सकारात्मक आलोचनाबाट डराउनु पर्दैन । सकारात्मक आलोचनाले आफूलाई सच्याउन मद्दत गर्दछ ।’
आफू मन्त्रीको जिम्मेवारीमा आइसकेपछि राज्यबाट दिने सुविधा श्रीमान् र श्रीमती दुवैको नामबाट दिनुपर्छ भन्ने गरी भूमि नीतिमा व्यवस्था गरिएकोले श्रीमान् श्रीमती दुवैको नाममा जग्गा हुने व्यवस्था गर्न संयुक्त लालपुर्जाको व्यवस्था गरिएको र अहिलेको जग्गा प्रशासन पारदर्शी र सुशासन भन्ने नाराका साथ आफू अगाडि बढेको बताइन् ।
विगतमा छुटाइएको नेपालको जमिन समेटेर नक्सा सार्वजनिक गर्न आफूले निकै ठूलो चुनौती झेल्नु परेकोसमेत उनको भनाइ छ ।
यस्तै सगरमाथाको उचाई नाप्ने कुरा पनि महत्वपूर्ण रहेको भन्दै यसले राष्ट्रियस्तरमा त्यति चर्चा पाउन नसके पनि विश्वमा सगरमाथाको उचाई बढ्यो भन्ने कुरालाई निकै महत्वका साथ हेरिएकोसमेत बताईन् ।
उनले आफ्नो कार्यकालमा सुकुम्बासीको समस्या समाधान गर्नुपर्छ भनेर लागेको भन्दै वैज्ञानिक भूमी व्यवस्थापनका निम्ती अव्यवस्थित बसोबासको व्यवस्थापन पहिलो शर्त हो भन्ने मान्यताका साथ भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनमा सरकार लागेको बताएकी छिन् ।
हालसम्म १ हजार बढी सरकारी तथा सार्वजनिक जग्गाको दर्ता बदर गरेर सरकारको नाममा ल्याउन सफल भएको भन्दै पहुँचमा बसेकाहरुको संरक्षणमा सरकारी तथा सार्वजनिक जग्गाको अतिक्रमण भएको मन्त्री अर्यालको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया